जुम्लामा आइपुग्यो ८ हजार ९ सय २० भाइल एचपीभी खोप

माघ २३, २०८१

डीबी बुढा

8 thousand 920 vials of HPV vaccine arrived in Jumla

जुम्ला — यही माघ २७ गतेदेखि सुरु हुन लागेको एचपीभी खोप अभियानका लागि ८ हजार ९ सय २० भाइल खोप जनस्वास्थ्य सेवा कार्यालय जुम्लामा आइपुगेको छ । पर्याप्त खोपको मात्र आइपुगेकोले मापदण्ड भित्रका कुनै पनि किशोरीहरु खोप लगाउनबाट बञ्चित नहुने जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । 

जनस्वास्थ्य अधिकृत प्रेम सोमाइले २५ गतेभित्रै हरेक पालिका केन्द्रसम्म खोप पठाइसक्ने तयारी भइरहेको बताए । उनले भने, ‘जुम्लामा चाहिने जति खोप आइपुगेको छ । २५ गते हरेक पालिका केन्द्रमा पुग्छ । २६ गते खोप केन्द्रमा पुगेर २७ गतेदेखि खोप लगाउन सुरु हुनेछ ।’

भविष्यमा महिलाको पाठेघरको मुखमा हुन सक्ने क्यान्सरको जोखिमलाई मध्यनजर गर्दै एचपीभी खोप अभियान सुरु हुन लागेको जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले जानकारी दिए । एचपीभी खोपका लागि १ सय १ वटा खोप केन्द्र तोकिएको छ । जसमा ३०३ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरु परिचालन गरिने जनस्वास्थ्य अधिकृत सोमाइले जानकारी दिए । खोप अभियानका लागि महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीहरु सबैलाई तालिम दिइसकिएको छ । उनका अनुसार पहिलो चरणमा चन्दननाथ, पातारासी, गुठिचौर, तातोपानी, तिलामा माघ २७ देखि २९ गतेसम्म खोप अभियान संचालन हुने भएको छ । दोस्रो चरणमा  फागुन १ देखि ३ गतेसम्म हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा खोप अभियान संचालन गर्ने स्वास्थ्य कार्यालयको तयारी छ । जुम्लाका आठ स्थानीय तहका आठ हजार आठ सय २९ जना छात्रालाई पाठेघर मुखको क्यान्सरविरुद्ध (एचपीभी) खोप दिइने छ । 

पाठेघर मुखको क्यान्सरविरुद्ध एचपीभी खोप शतप्रतिशत प्रभावकारी मानिएको छ । त्यसलै १० देखि १४ वर्षसम्मकम किशोरीलाई अनिवार्य लगाइने छ । ‘विद्यालय बाहिर रहेका तथा विद्यालयको पहुँचमा रहेका सबैलाई खोप लगाइने छ ।’ तथ्यांकनुसार जुम्लामा १० देखि १४ वर्षसम्मका १ हजार पाँच सय ८६ जना विद्यालय बाहिर रहेका छन् । भने विद्यालय भित्रका ७ हजार दुई सय ४३ छन् । सबैगरी आठ हजार आठ सय २९ जना छात्रालाई उक्त खोप लगाउने तयारी भइरहेको जनस्वास्थ्य प्रमुख सापकोटाले जानकारी दिए । 

जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकाका एक हजार आठ सय ७९ जनालाई खोप दिइने छ । गुठीचौर गाउँपालिकाका पाँच सय २०, हिमा गाउँपालिकाका एक हजार १३ जना, कनकासुन्दरीका नौ सय ६७ जनालाई  खोप दिइने छ । पातारासीका एक हजार एक सय ५८ जना, सिंजाका नौ सय सात जना, तातोपानीका एक हजार एक सय ५३ र तिलाका एक हजार दुई सय ३२ जना छात्रालाई खोप लगाइने छ ।

जनस्वास्थ्य कार्यालय जुम्लाले एचपीभी खोपको बारेमा सचेतना र्‍याली निकाल्नुका साथै पर्चा, पम्पलेट निकालेर दुर्गमका गाउँबस्तीहरुमा पुर्‍याइसकेको छ । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully