डढेलोको जोखिमबाट बचाउन सरसफाइ

माघ २२, २०८१

विप्लव महर्जन

Sanitation to prevent fire hazard

सल्यान — डढेलोको उच्च जोखिममा रहेको जिल्लाको शारदा नगरपालिका–२ स्थित सल्लेरी वनभित्रै रहेका जिल्ला अस्पताल सल्यान, स्वास्थ्य सेवा कार्यालय, सल्यान बहुमुखी क्याम्पस, त्रिभुवन जन मावि लुहापिङ्ग, खेलकुद विकास समिति र सशस्त्र बेस क्याम्पको कार्यालय आसपास क्षेत्रमा सरसफाइ गरिएको छ ।

डढेलोको कारण विगतमा जस्तो आगो निभाउन समस्या नहोस्, मानवीय तथा भौतिक संरचना क्षति नहोस् र आसपासका क्षेत्रमा डढेलो लाग्न नपाओस् भनी डिभिजन वन कार्यालय सल्यान, प्रहरी, जिल्ला प्रशासन कार्यालय, सशस्त्र र नेपाली सेनाको संयुक्त आयोजनामा सरसफाइ गरिएको हो । Sanitation to prevent fire hazard

सल्यान जिल्ला डढेलोको उच्च जोखिममा रहेकाले डढेलोबाट बस्ती र मानवीय क्षति हुनबाट बचाउन मंगलबारदेखि डढेलो नियन्त्रण अभियान थालेको र त्यही अवसर पारेर सल्लेरी वनआसपास रहेका कार्यालय क्षेत्रमा सरसफाइ गरिएको डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलले बताए । सरसफाइ मात्र नभई आगो लाग्न मद्धत पुग्ने सल्लाका कुसुमलगायत अन्य सुकेका बुट्यान, खरसमेत संकलन गरी जलाएको उनले जानकारी गराए ।Sanitation to prevent fire hazard

सरसफाइ कार्यक्रममा नेपाली सेना, सशस्त्र, प्रहरीलगायत १ सय ५० जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक केसरकुमार न्यौपानेले बताए । 

‘गत वर्ष डढेलो लाग्दा सो कार्यालयमा आगो निभाउन हम्मेहम्मे परेको थियो । डढेलोका कारण घन्टौंसम्म सडकमा गाडी गुड्न सकेका थिएनन्,’ उनले भने, ‘आगो निभाउने क्रममा केही मानिस घाइते पनि भएका थिए । कुनै घटना हुनुभन्दा पहिले नै सचेत रहन सरसफाइ गरिएको हो ।’

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully