जाजरकोट — सदरमुकाम खलंगामा रहेको साना किसान कृषि सहकारी संस्थाले पहिलोपटक मह प्रशोधन उद्योग स्थापना गरेको छ ।
मह प्रशोधनका लागि जिल्लामा कुनै पनि उद्योग नभएपछि किसानको सहजताका लागि उद्योग स्थापना गरिएको हो । सहकारीकी अध्यक्ष योगमाषा कार्कीका अनुसार सदरमुकाममा उद्योग सञ्चालनपछि जिल्लाका मह उत्पादक किसानलाई सहजता भएको छ ।
उनले भनिन्, ‘कृषकको उत्पादनलाई सहज बजारीकरण गर्न र महको शुद्धता कायम गरी मूल्यमा एकरुपता ल्याउन हामीले उद्योग सञ्चालन गरेका हौं ।’ गत भदौ २५ गते उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जाजरकोटमा दर्ता भएको उद्योगको अनुमति खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतबाट लिइएको हो ।
उद्योगमा महको लेबलिङ, प्याकेजिङ लगायतका काम सुरु गरिएको अध्यक्ष कार्कीले बताइन् । उद्योगले स्थानीय महिलालाई रोजगारी सिर्जना गर्नुका साथै उत्पादनको बजारीकरणमासमेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
सहकारीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, हेल्भेटास नेपालसँगको समन्वय तथा सहकार्यमा मौरीपालक किसानलाई आधुनिक घारसहितका गोला, महदानीलगायतका उपकरण वितरण र कृत्रिम चाका निर्माणसम्बन्धी तालिम दिँदै आएको छ ।
हाल प्रतिकिलो एक हजार दुई सय रुपैयाँमा मह बिक्री गर्दै आएको उद्योगले गत कात्तिकदेखि हालसम्म १२ क्विन्टल मह प्रशोधन गरेर बिक्री गरिसकेको छ । कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी नवीनराज आचार्यले जाजरकोट मह उत्पादनका लागि राम्रो क्षेत्र मानिने बताए ।
यस जिल्लामा चालू आव २०८१/८२ मा करिब ११० मेट्रिक टन मह उत्पादन भएको छ । माहुरी चरनका लागि उत्कृष्ट मानिने चिउरी जाजरकोटका जंगलमा प्रशस्त मात्रामा पाइने सूचना अधिकारी आचार्यले बताए । उनका अनुसार अहिले करिब पाँच सय किसान १६ हजार घारबाट व्यवसायिक मह उत्पादनमा संलग्न छन् ।
जिल्लाको नलगाड, कुशे, बारेकोट र सदरमुकाम भेरी नगरपालिकामा अत्यधिक मात्रामा चिउरीको जंगल रहेकाले यस क्षेत्रका किसानहरु लामो समयदेखि मौरीपालन पेसामा आबद्ध रहँदै आएका छन् ।
जिल्लामा मह प्रशोधन उद्योग स्थापना भएपछि उत्पादक र किसान दुवैलाई सहज हुने विश्वास गरिएको छ । भेरी नगरपालिका–१, पिपे, ज्यामिरेका माहुरीपालक कृषक समूहका अध्यक्ष मनबहादुर रानाले प्रशोधन उद्योग स्थापनाले आफूहरुलाई सहज बनाएको बताए ।
यसअघि व्यापारीहरुले मनपरी ढंगले महमा चिनी मिसाएर बिक्री गर्ने गरेको भन्दै किसानले प्रशोधन केन्द्र स्थापनाको माग गर्दै आएका थिए । बजारमा डुलाउँदै बिक्री हुने महमा चिनी मिसाइने र त्यसका कारण जिल्लाको महप्रति नराकात्मक सन्देश जाने अवस्थामा अब उद्योगले प्रशोधन गर्न थालेदेखि बजारमा गुणस्तरीय मह जान थालेको छ।
