सुर्खेत — खेलकुद क्षेत्र र खेलाडीको विकास गर्ने हो भने एक पालिका एक खेल मैदान बनाउन आवश्यक रहेको आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले बताएका छन् ।
जाजरकोटको छेडागाड नगरपालिकामा सोमबारदेखि सुरु भएको पाँचौं मेयर कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री शाहले केन्द्रमा विजय प्राप्त गर्ने खेलाडी मात्र खोजेर नहुने बताए ।
वडा र पालिकास्तरबाट खेलाडी उत्पादन गर्न आवशयक रहेको पनि उनको भनाइ छ । खेल, शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न पालिकालाई सुझाव दिए । ‘विकास र सेवामा राजनीति घुसाउनु हुँदैन,’ उनले भने ।
नगर क्षेत्रमा रहेका क्रियाशील खेलाडीहरूको अन्तर्निहित क्षमता र खेल क्षेत्रको विकासका लागि मेयर कप संचालन गरेको नगर प्रमुख रत्नबहादुर खड्काले बताए ।
छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले पालिकामै हुने प्रतियोगिताले खेलाडीमा थप हौसला बढाउने बताए । ‘खेलाडी र खेल क्षेत्रको विकासमा पालिकाले आवश्यक बजेटको व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘खेलक्षेत्रका आवश्यक संरचना पालिकामै बनाउन सके विभिन्न लतमा लागेका युवाहरू खेलक्षेत्रमा आकर्षित हुन्छन् ।’
तीन दिनसम्म संचालन हुने प्रतियोगितामा १४ विधामा विभिन्न प्रतियोगिता हुने र नगरका १५ विद्यालयका छात्र र छात्रा सहभागी हुने कार्यक्रम छ ।
