जलस्रोत तथा ऊर्जा मन्त्रालयका ८ सय ७८ योजना कार्यान्वयनमा

माघ १४, २०८१

कान्तिपुर संवाददाता

878 plans of the Ministry of Water Resources and Energy are being implemented

सुर्खेत — कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ मा बजेट विनियोजन भएका ८ सय ७८ योजना कार्यान्वयनमा लगेको छ । मन्त्रालयले यो वर्ष १ हजार १ सय ३३ योजनामध्ये झण्डै ७७.५ प्रतिशत योजना कार्यान्वयनमा लगेको हो ।

मन्त्रालयले आइतबार र सोमबार आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा खानेपानी, सिॅचाइ तथा ऊर्जा विकास निर्देशनालयसहित १० जिल्ला कार्यालयहरूले गरेका योजनाहरूको समिक्षा गरिएको छ । जसअनुसार चालु आर्थिक वर्षमा बजेट विनियोजन भएकामध्ये झण्डै ४९ प्रतिशत योजनाको उपभोक्तासॅग सम्झौता भएका छन् । त्यसमध्ये पुस मसान्तसम्म ४२ योजना सम्पन्न भइसकेको उनको भनाइ छ । 

दोस्रो त्रैमासिकसम्म ५ सय ५७ योजना सम्झौता भएको मन्त्रालयका सचिव इन्द्रदेव भट्टले बताए । उनका अनुसार मन्त्रालयले अहिलेसम्म ३५ प्रतिशत भौतिक प्रगति गरेको छ । यो वर्ष मन्त्रालयका लागि २ अर्ब ८६ करोड ४८ लाख १६ हजार बजेट विनियोजन भएकोमा अहिलेसम्म २३ करोड ४९ लाख रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयमा क्रमागततर्फ २५ योजना कार्यान्वयनमा छन् भने यो वर्ष बजेट विनियोजन भएका ८४ मध्ये ४६ योजनाको ठेक्का सम्झौता भएको छ । 

जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले पहिचान भएका योजनाहरू छिटो कार्यान्वयनमा लैजान कार्यालय प्रमुखहरूलाई निर्देशन दिइन् । उनले विकास योजनामा दोहोरोपना हटाउन जरुरी रहेको बताउॅदै योजनाहरू छिटो सम्पन्न गरी गुणस्तरीय बनाउन सके जनताले सरकारको अनुभूति गर्ने बताइन् ।

कान्तिपुर संवाददाता

Link copied successfully