वीरेन्द्रनगर — युवाहरूलाई उद्दममा आकर्षित गर्न राज्यको प्रयास नपुगेको युवाहरूले बताएका छन् । वीरेन्द्रनगरमा सञ्चालित कर्णाली युवा महोत्सवको दोस्रो दिन शनिबार भएको छलफलमा सहभागी वक्ता युवा उद्यमीहरुले युवाहरुलाई विदेसिनबाट रोक्न राज्यले उद्यम विकासमा जोड दिनुपर्ने बताए । उनीहरूले राज्यले युवालाई उद्यम क्षेत्रमा आकर्षित गराउन नसकेको धारणा राखे ।
विनीता बोगटीले सहजीकरण गरेको ‘कर्णालीका युवाः उद्यमी र सिर्जनशील युवा’ सत्रमा उनीहरुले राज्यले युवा उद्यमशिलता उन्मुख नीति ल्याएर विदेश जानबाट रोक्नुपर्ने बताए ।
वीरेन्द्रनगरमा रेष्टुरेन्ट सञ्चालन गरी स्थानीय युवाहरुलाई रोजगारी दिएका पोषणराज रेग्मीले युवालाई विदेसिनबाट रोक्न राज्यले उद्यम सहजीकरण नीति ल्याउनुपर्नेमा जोड दिए । नेपालमा अहिले सहजै सुरु गर्न सकिने र स्थापित हुन सकिने उद्यम पर्यटन भएकाले यसतर्फ राज्यले युवाहरुलाई प्रेरित गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘नेपालको भौगोलिक सुन्दरताले नै पर्यटन व्यवसाय गर्नेहरू स्थापित हुन सक्छन्, यसका लागि सरकारले नीतिगत रुपमा सहजीकरण गर्नु जरुरी छ ।’
अर्का वक्ता युवा वैज्ञानिक राजेन्द्र विष्टले पोषणकै भनाइमा सहमत जनाउँदै युवाहरुलाई विदेश जानेभन्दा उद्यममा प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याए । उनले आफूले सुरु गरेको व्यवसाय पनि अरु युवाहरुलाई प्रेरित गर्नका लागि भएको बताए । राज्यले बनाएको नीति पूर्ण कार्यान्वयन नहुनुजस्ता कारणले नेपालमा साना लगानीमा उद्यम गर्न चुनौती रहेको उनको भनाई थियो ।
‘नेपालमा व्यवसाय गर्न चुनौती छन्, राज्यबाटै दिनुपर्ने सुविधा नपाउँदा नै उद्यममा लाग्न चुनौती छ,’ राजेन्द्रले भने, ‘भौतिक पूर्वाधार कमजोर हुँदा पनि उद्यम गर्न चुनौती छँदैछ, हाम्रो सन्दर्भमा त सीप भएका युवाहरु समेत उद्यमशिलतामा आर्कषित भएको पाइँदैन ।’
उद्यमी कल्पना विष्टले उद्यमशील बन्न चाहने युवाहरूले आफ्नै क्षेत्रबाट सुरु गर्नुपर्ने बताइन् । अर्की उद्यमी लक्ष्मी भट्टराइले बहुउद्देश्यीय उद्यम गर्न चाहनेलाई प्रदेश र स्थानीय सरकारले विशेष सुविधा दिनुपर्ने धारणा राखिन् । युवाहरुलाई उद्यमतर्फ प्रेरित गर्न प्रदेश तथा स्थानीय सरकारले अनुदानसँगै बजारीकरणमा सहजीकरण गर्नुपर्ने उनको भनाइ छ ।
नबिल बैंकका कर्णाली प्रदेश प्रमुख आकाशदीप श्रेष्ठले बैंकले केही गर्छु भन्ने युवाहरुका लागि उद्यमशिलता र नवप्रर्वतनसम्बन्धी व्यवसायका लागि ऋण प्रवाह गर्ने बताए ।
कर्णाली युवा महोत्सव परिवर्तनका लागि युवा, राष्ट्र निर्माण मञ्च नेपाल र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनामा शुक्रबारदेखि वीरेन्द्रनगरमा सञ्चालित छ ।
