वीरेन्द्रनगर — कर्णालीका संसदीय समितिले नेतृत्व पाएका छन् । गत वैशाखदेखि नेतृत्वविहीन रहेका तीनवटा संसदीय समितिले नेतृत्व पाएका हुन् । नवनिर्वाचित संसदीय समितिका सभापतिहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
लेखा समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका विन्दमान विष्ट, अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेकपा एमालेकी दक्षिणा शाही र सामाजिक विकास समितिको सभापतिमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री चयन भएसँगै शपथ लिएका हुन् । उनीहरुलाई कार्यवाहक सभामुख यशोदाकुमारी न्यौपानेले शपथ गराएकी हुन् ।
यसअघि लेखा समितिको सभापति रहेका ऐमालेका जितबहादुर मल्लले १५ असोजमा राजीनामा दिएका थिए । यस्तै, अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति रहेका दुर्गबहादुर रावत वैशाख १८ मा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेपछि समिति सभापतिविहीन बनेको थियो । सामाजिक विकास समितिका सभापति रहेका घनश्याम भण्डारी साउन २० मा सामाजिक विकासमन्त्री बनेपछि उक्त समिति पनि सभापतिविहीन थियो ।
कर्णालीका चारवटा संसदीय समितिमध्ये प्रदेश मामिला समितिको सभापतिमा भने एकीकृत समाजवादीका सांसद कल्याणी खड्का छन् ।
