नौ जिल्लाका कृषि प्राविधिकहरु जुम्लामा

माघ १०, २०८१

डीबी बुढा

Agricultural technicians from nine districts together

जुम्ला — स्याउ बगैंचा व्यवस्थापनको तालिम लिन नौ जिल्लाका कृषि प्राविधिकहरु जुम्ला पुगेका छन् । उनीहरुले उच्च घनत्वको स्याउ बगैंचा व्यवस्थापन र गुणस्तरका बारेमा जुम्लामै पुगेर प्रशिक्षण लिएका हुन् । 

उच्च घनत्वको स्याउ रोपिएका गुठिचौरका चार, तातोपानीको एक र बागवानी अनुसन्धान केन्द्र राजिकोटको बगैंचामै पुगेर व्यवहारिक अभ्याससमेत गरेका छन् । 

स्याउ सुपरजोनका कार्यालय प्रमुख खेमराज शाहीले पहिलोपटक यति धेरै जिल्लाका कृषि प्राविधिकहरु जुम्लामा पुगेर स्याउको बारेमा मन्थन गरेको प्रतिक्रिया दिए । उनका अनुसार कालिकोट, डोल्पा, मुगु, दार्चुला, बाजुरा, अछाम, हुम्ला, सुर्खेत र जुम्लाका गरी ३५ कृषि प्राविधिकले तालिम लिएका हुन् । तालिममा कृषि अधिकृत, सहायक र स्थानीय तहका कृषि अधिकृतहरु सहभागी थिए ।  

'तालिममा धेरै प्रयोगात्मक र नयाँ प्रविधिको ज्ञान पाइयो,' डोल्पाका कृषि अधिकृत गोविन्दबहादुर मल्लले भने, ‘यो विषय किसानको बगैंचामै लिएर परीक्षण गर्न आतुर छौं ।’ कर्णालीमा स्याउको उत्पादन मात्र नभइ गुणस्तरमा समेत जोड दिने कृषि प्राविधिकहरुले प्रतिबद्धता जनाएका छन् । 

उच्च घनत्वको स्याउ बिरुवा काँटछाँट, रेखदेख गर्नुका साथै बगैंचाको आकार प्रकार, रोपण, गुणस्तर व्यवस्थापन लगायतका विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । 'स्याउको विषयका कृषि प्राविधिकहरु नै बढी जानकार भएपछि मात्र किसानको बगैंचा हराभरा हुने देखियो,' शाहीले भने, ‘कृषि प्राविधिहरु किसानको बगैंचामा पुगेर व्यवहारिक अभ्यास गर्दा किसानलाई राहत हुने आशा गरिएको छ ।’

प्रशिक्षक वेदप्रसाद चौलागाईंले उच्च घनत्वको स्याउ खेती नयाँ र समस्याग्रस्त भएकोले कृषि प्राविधिक एकै थलोमा भेला भएर ज्ञान छर्नु पर्ने देखिएको बताए । 'फलफूलमा लामो अध्ययन अनुसन्धान चाहिन्छ,' उनले भने, ‘चाँडो प्रतिफल दिने गरेर मागमा आधारित जातहरुको स्याउ खेतीमा जोड दिन दक्ष जनशक्ति चाहिन्छ ।’

स्याउका बिरुवालाई सन्तुलित पोषण दिन प्राविधिकहरुले सीप, ज्ञान र तौर तरिका र सिकेर यसको फैलावट गुणात्मक भएर अघि बढ्ने अपेक्षा गरिएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाइ खुमलटार, परियोजना समन्वय एकाइ, सुर्खेत र परियोजना कार्यान्वयन एकाइ जुम्लाको संयुक्त आयोजनामा नौ जिल्लाका कृषि प्राविधिकहरुलाई जुम्ला ल्याइएको हो । हाल जुम्लामा उच्च घनत्व जातका स्याउ ५२ हेक्टरमा १ लाख ५२ हजार बिरुवा रोपण भएको छ ।

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully