वीरेन्द्रनगर — कर्णालीमा रिक्त रहेका तीनवटा संसदीय समितिको नेतृत्वका लागि राजनीतिक दलहरूले सहमति गरेका छन् । जस अनुसार लामो समयदेखि रिक्त रहेका समितिको नेतृत्वका लागि उम्मेदवारहरूको एकल उम्मेदवारी परेको छ ।
विषयगत समिति सभापतिको टुंगो लगाउन प्रदेशसभाले मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । त्यही अनुसार बुधबार उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका थियो ।तीनवटै समितिमा १-१ जनाको मात्रै उम्मेदवारी परेको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए ।
कर्णाली प्रदेशसभामा चारवटा विषयगत समिति छन्। प्रदेशसभाका तीन प्रमुख राजनीतिक दलहरूले सहमतिका आधारमा समिति सभापतिको टुंगो लगाएका हुन्।
रिक्त रहेको सार्वजनिक लेखा समितिको सभापतिमा विन्दमान विष्ट, अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा दक्षिणाकुमारी शाही र सामाजिक विकास समितिको सभापतिमा पूर्णबहादुर खत्रीको उम्मेदवारी परेको छ।
प्रमुख तीन राजनीतिक दलहरूबीच भएको सहमतिअनुसार सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले लिएको छ भने अर्थ तथा प्राकृतिक स्रोत समिति एमाले लिएको छ।सामाजिक विकास समिति सत्ता साझेदार दल नेपाली कांग्रेसले पाएको छ।
चारमध्ये प्रदेश मामिला समितिको सभापतिमा एकीकृत समाजवादीकी कल्याणी खड्का छन्। सार्वजनिक लेखा समिति असोज १५, सामाजिक विकास समिति साउन २१ र अर्थ तथा प्राकृतिक समिति वैशाख १८ देखि नेतृत्वविहीन थिए। समितिहरू नेतृत्वविहीन हुँदा काम हुन सकेकाे थिएन ।
