बजेट अभावमा विद्यालयको पर्खाल अलपत्र

माघ ९, २०८१

विप्लव महर्जन

Due to lack of budget, the school wall is standing still

सल्यान — जिल्लाको कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरको पोखरामा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालय घेर्न सुरु गरिएको पर्खाल अलपत्र परेको छ । सम्बन्धित निकायले बजेट विनियोजनमा बेवास्ता गर्दा विद्यालयको पर्खाल निर्माण अलपत्र परेको हो ।

चारैतिरबाट खुला भएका कारण छाडा तथा किसानले चरिचरनका लागि छाडेका पशु चौपायाले हैरान बनाउन थालेपछि कालिमाटी गाउँपालिकाले २०७६ मा १० लाख बजेट विनियोजन गरेर उपभोक्ता समितिमार्फत पक्की पर्खाल निर्माणको काम अगाडि बढाएको थियो । पर्खाल निर्माणको काम अलपत्र परेपछि विद्यालय पशुचौपायाको आश्रयस्थल बनेको छ । जसका कारण विद्यालयको चारैतिर फोहर बढेको छ । 

गाउँपालिकाले २०७६ मा विनियोजन गरेको १० लाखबाट जम्मा सय मिटर जति पर्खाल निर्माणको काम भएको र त्यसपछि बजेट थप नहुँदा विस्तार गर्न नसकिएको विद्यालयका प्रधानाध्यापक पोखर सिंह खत्रीले बताए । पर्खाल निर्माणका लागि पटक–पटक पालिका, प्रदेश सरकारसँग माग राख्दै आए पनि कसैले चासो नदेखाएको उनले जानकारी गराए । 

‘विद्यालय चारैतिर घेरबार गर्न झन्डै चार सय मिटर पर्खाल लगाउनु पर्छ । अहिले एकातिर सय मिटरजति मात्र पर्खाल लागेको छ । तीनतिर खुला छ । जसले गर्दा स्थानीय किसानले चरिचरनका लागि छाडेका पशुचौपाया सिधै विद्यालयभित्र पस्छन्, फोहर गर्छन्,’ उनले भने, ‘पठनपाठन भइरहेका बेला कक्षाकोठामै पस्ने गर्छन् । विद्यालयका कार्यालय सहयोगीलाई पशुचौपाया धपाउन हम्मेहम्मे पर्छ ।’ 

२००९ सालमा स्थापना भएको विद्यालय ५ सय बढी विद्यार्थी रहेको र दिनभरि पशुचौपाया धपाउँदै समय बित्ने गर्दा विद्यालय आसपासका क्षेत्रमा फोहर मात्र नभई पठनपाठनसमेत प्रभावित हुँदै आएको प्रअ खत्री बताउँछन् ।

पालिकाले बहुवर्षीय योजनाका रूपमा कार्यक्रम अगाडि बढाए पनि बजेट थप नगर्दा निर्माण थालिएको पर्खाल बीचैमा अलपत्र परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष रविलाल बस्नेतले बताए । एक/दुई वर्ष बजेट नपरे लगाएको पर्खाल बर्षातको समयमा परेको पानीले भत्किन सक्ने उनले जानकारी गराए । 

‘अलपत्र परेको पर्खाल सम्पन्न गर्न पालिका तथा प्रदेशसँग बजेट माग गरिरहेका छौं । पालिकाले पर्याप्त बजेट नभएकाले थप्न नसकिएको भनेर टाढिएको छ भने प्रदेश सरकारले वास्तै गरेको छैन,’ उनले भने, ‘चारैतिरबाट तारबार नभएकै कारण विद्यालय डढेलोको उच्च जोखिममा पनि परेको छ । गत वर्ष डढेलोले चारैतिरबाट घेरेपछि स्थानीयलाई विद्यालय जोगाउन हम्मेहम्मे परेको थियो ।’ 

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully