भूकम्पबाट क्षतिग्रस्त विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माण गर्न ठेक्काको तयारी

माघ ६, २०८१

ज्योति कटुवाल

Preparation of contracts to rebuild schools and health institutions damaged by the earthquake

सुर्खेत — कर्णाली प्रदेश सरकारले गत कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट क्षति भएका विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माण गर्न ठेक्का लगाउने तयारी गरेको छ । कर्णालीमा ६२ वटा विद्यालय, १८ वटा स्वास्थ्य संस्था पुनर्निर्माण गर्नुपर्ने विवरण यसअघि नै संकलन गरिसकेको छ । सगै १८ वटा हेलिप्याड पनि निर्माण गरिनेछ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले विद्यालय भवन र स्वास्थ्य संस्था निर्माणका लागि चालु आर्थिक वर्षमा ५० करोड रूपैयाँ छुट्ट्याएको छ। विद्यालय भवन र स्वास्थ्य संस्था पुनर्निर्माणका लागि जाजरकोटमा २५ करोड, रुकुम पश्चिममा २२ करोड र सल्यानमा तीन करोड रूपैयाँ विनियोजित गरेको थियो ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले जाजरकोटमा २२ विद्यालय र ११ स्वास्थ्य चौकी, रुकुम पश्चिममा २७ विद्यालय र पाँचवटा स्वास्थ्य चौकी, सल्यानमा दुई विद्यालय र तीन स्वास्थ्य चौकी निर्माण गरिने बताए । उनले भूकम्प गएका जिल्लाका जिल्ला समन्वय समितिको सिफारिसका आधारमा विद्यालय र स्वास्थ्य संस्थाहरू छनोट गरिएको बताए । उनले भने,  ‘छनोट भएका विद्यालय र स्वास्थ्य संस्था निर्माणका लागि जाजरकोटमा टेन्डर प्रक्रिया सुरु भइसकेको छ ।’ रुकुम पश्चिम र सल्यानमा पनि ठेक्काको तयारी भइरहेको उनको भनाइ छ ।  

विद्यालय भवन चार कोठा र स्वास्थ्य चौकी तीन कोठाको बनाउने तयारी प्रदेश सरकारले गरेको छ । संघीय सरकारको अनुमतिसँगै प्रभावित क्षेत्रमा विद्यालय, स्वास्थ्य संस्था र सार्वजनिक भवन निर्माण कार्य सुरु गरेको छ । जिल्ला समन्वय समिति जाजरकोटका समन्वय प्रमुख कालीबहादुर खत्रीका अनुसार भूकम्पका कारण झन्डै तीन सय विद्यालय भवनमा क्षति पुगे पनि प्राथमिकताका आधारमामात्र विद्यालय छनोट गरिएको बताए।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully