डायलासिस सेवा नहुँदा कर्णालीका बिरामी मर्कामा  

माघ ४, २०८१

डीबी बुढा

Due to lack of dialysis services, Karnali patients are suffering

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा जडान गरिएको डायलासिस मेसिन सञ्चालनमा नआउँदा बिरामीहरु मर्कामा परेका छन् । उनीहरु डायलासिस गराउन सुर्खेत,नेपालगन्ज, काठमाडौंका अस्पतालहरुमा जान बाध्य छन् । 

गत वर्ष भदौ महिनाको १४ गते तत्कालीन स्वास्थ्य तथा जनसंख्यमन्त्री मोहनबहादुर बस्नेतले ६ वटा डायलासिस मेसिन प्रदान गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डायलासिस सेवा सुरु भएको घोषणा गरे । तर घोषणाको एक वर्ष चार महिना बितिसक्दा पनि सेवा सञ्चालन हुन सकेको छैन । 

अधिकांश मिर्गौलापीडितहरु अस्पतालमा पुगेर फर्किने गरेका छन् । उनीहरुले तत्काल डायलासिस मेसिन सञ्चालनमा ल्याएर सेवा प्रदान गर्न माग गरेका छन् । 'अस्पतालमा डायलासिस मेसिन छ । तर डायलासिस गराउनुपर्ने बिरामीहरु सुर्खेत, नेपालगन्ज जानु परेको छ,' स्थानीय कृष्णप्रसाद गौतमले भने, ‘छिट्टै मेसिन सञ्चालनमा आएर बिरामीले सेवा पाएको देख्न पाइयोस् ।’

‘मेसिनहरु थन्किनु, सेवा रोकिनुजस्ता कारणले दैनिक दिन नागरिकले दुःख पाइरहेका छन्,' उनले थपे, ‘डायलासिस मेसिन उद्घाटन गर्दा जति मिर्गौलापीडितहरु खुसी थिए । अब सेवा सुरु गरेर त्यो भन्दा बढी खुसी देख्न पाइयोस् ।’

'अब त काठमाडौं जानु पर्दैन होला भन्ने थियो,' अर्का ओमबहादुरले रावतले भने, ‘अहिले झनै रेफर हुने संख्या बढ्यो । डायलासिस सेवा नाम मात्रको भयो ।’ डायलासिस सेवा सुरु भएको ताम्रापत्रमा अहिले पनि हेर्न पाइन्छ । तर सेवा कहिले पाउने भन्ने अन्योलता कायमै छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुका अनुसार वर्षमा २० देखि २५ जनासम्म डायलासिस गराउनुपर्ने बिरामी जिल्ला बाहिर जाने गरेका छन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले तत्काल डायलासिस सेवा सुरु हुने जनाएको छ । पुरानो आरो मेसिनले निकालेको पानी गुणस्तरीय नभएपछि डायलासिस सेवा रोकिएको निर्देशक डा. पुजन रोकायाले जानकारी दिए । 

निर्देशक रोकायाले भने, ‘पुरानो मेसिनले चित्तबुझ्दो पानी निकाल्न सकेन । ३/४ पटक परीक्षण गर्दा पनि राम्रो काम नगरेपछि डायलासिस सेवा रोकिएको हो ।’ डायलासिस मेसिन एक हप्ताभित्र जुम्ला आइपुग्ने प्रतिष्ठानले जनाएको छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कालिकोट, मुगु, हुम्ला र डोल्पा लगायतका जिल्लाबाट बिरामीहरु उपचार गर्न आउने गरेका छन् ।

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully