जीर्ण सल्यान कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी

माघ ३, २०८१

विप्लव महर्जन

The dilapidated Salyan prison has five times more inmates than its capacity

सल्यान — जिल्लाको जीर्ण तथा साँघुरो कारागार भवनमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी राखिएको छ । सम्बन्धित निकायले नयाँ भवन नबनाएपछि कारागारको जीर्ण तथा साँघुरो भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राख्न बाध्य भएको कारागार स्रोतले जनाएको छ ।

वि.सं. १९१० मा तत्कालीन राजा–रजौटाले तबेलाका रुपमा निर्माण गरेको जीर्ण भवनलाई टालटुल पारेर कैदीबन्दी राख्न प्रयोगमा ल्याइएको यो कारागार भवनमा चारवटा मात्रै कोठा रहेका छन् । २० पुरुष र ५ महिला राख्न सकिने कारागारको क्षमता भए पनि अहिले यहाँ १ सय २१ पुरुष, १६ महिला र ३ नाबालक रहेका छन् ।

जीर्ण तथा साँघुरो कारागार भवनको एक कोठामा ७/८ जना मात्र राख्न मिल्नेमा अहिले ३० देखि ३५ जनासम्म राख्न बाध्य भएको कारागारका जेलर भीमबहादुर घर्तीले बताए । पर्याप्त ठाउँ नभएकाले १५/२० जनालाई अहिले पनि बरन्डामा सुताउनु पर्ने अवस्था आएको उनले जानकारी गराए । ‘केही वर्षअघि सुत्न समस्या भएपछि तीन/चार तले खाटको व्यवस्था गरिएको थियो,’ उनले भने, ‘अहिले त्यो पनि अपुग भएकाले नचाहँदा नचाहँदै पनि कोलिया र बरन्डामा सुताउनु परेको छ ।’

साँघुरो भवनमा कोचाकोच गरी कैदीबन्दी राख्नुपर्दा सरुवा रोग फैलिने जोखिम पनि उत्तिकै रहेको उनले जानकारी गराए । कैदीबन्दी राख्ने घर जीर्ण तथा साँघुरो भएपछि नयाँ भवन निर्माणका लागि बारम्बार सम्बन्धित निकायमा माग राख्दै आएको पनि उनले बताए । 

कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी भएपछि १० जनालाई बाँकेमा सरुवा गरिएको र चार जनालाई उपचारका लागि जिल्लाबाहिर पठाइएको उनको भनाइ छ । 

जीर्ण तथा साँघुरो भवनका कारण जोखिम मात्र नभई कैदीबन्दीले विभिन्न किसिमका समस्या पनि भोग्दै आएको कारागार सल्यानका चौकीदार परशुराम खत्रीले बताए । बरन्डामा सुन्तुपर्दा हिउँदमा चिसोले र गर्मीमा तातोले बिरामी हुने गरेको उनले जानकारी गराए । 

‘कारागारमा १ सय ४० जना कैदीबन्दी छन् । तिनका लागि चार शौचालय मात्र छन् । शौचका लागि लामो समय पालो कुर्नु पर्छ । सरसफाइ तथा नुहाउनका लागि साता कुर्नु पर्छ,’ उनले भने, ‘कारागारको कोठाबाहेक बरन्डावरिपरि खुला भएकाले वर्षातको समयमा परेको पानीले हिलो हुने भएकाले सुत्न समस्या हुन्छ । जीर्ण भवनबाट पानी चुहिने हुँदा झनै समस्या हुने गरेको छ ।’

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully