सल्यानको बाग्चौरका किसान सुन्तला बिक्रीबाटै वार्षिक ३० लाख बढी भित्र्याउँछन्

व्यावसायिक सुन्तला खेतीले किसान उत्साहित

माघ २, २०८१

विप्लव महर्जन

Farmers of Bagchaur in Salyan earn more than 30 lakhs annually from the sale of oranges

सल्यान — बाग्चौर नगरपालिका–९ डाँगीगाउँका ६३ वर्षीय भरतनाथ योगीले गत वर्ष ३५ लाखको सुन्तला बिक्री गरे । यस वर्ष पनि त्यत्तिकै हाराहारीमा सुन्तला बिक्री गर्ने उनको लक्ष्य छ ।

२०४४ सालदेखि सुन्तला खेतीमा लागेका उनले घरनजिकैको ४५ रोपनी जमिनमा १ हजार बोट लगाएर सुन्तला खेती गरिरहेका छन् । २०४२ सालदेखि २८ रोपनी जग्गामा व्यावसायिक रूपमा सुन्तला खेती गरेका ५७ वर्षीय गिरदल डाँगीले गत वर्ष १८ लाखको सुन्तला बगैंचाबाटै बिक्री गरे । उनले यस वर्ष २२ लाखमा ठेकेदारलाई ठेक्का दिइसकेका छन् ।

सुन्तला बिक्री गरेर वार्षिक १८ देखि २० लाख कमाउँदै आएका उनले १२ जनाको मात्र परिवार पाल्दै आएका छैनन्, दाङको तुलसीपुरमा घरजग्गा जोडिसकेका छन् भने छोराछारीलाई उच्च शिक्षा दिलाएका छन् । सुन्तलाबाटै कमाएको पैसाले उनका छोराबुहारी जापानमा बस्दै आएका छन् । 

यी दुई मात्र नभई जिल्लामा बाग्चौर नगरपालिका–८/९ कोटमौला सुन्तला उत्पादनको पकेट क्षेत्र मानिन्छ । यहाँका किसानको मुख्य पेसा भनेकै सुन्तला हो । यहाँका ५ सय बढी स्थानीय घरघरमा बगैंचा बनाएर सुन्तला उत्पादन व्यवसायमा लागेका छन् ।

सुन्तला बिक्री गरेर एक परिवारले १५ देखि ३५ लाखसम्म कमाउँदै आएका छन् । त्यति मात्र नभई कोटमौलाबाट १२ करोडभन्दा बढीको सुन्तला निकासी गर्दै आएका छन् । मकै, गहुँ बाली लगाउने पाखो जग्गामा व्यावसायिक सुन्तला खेतीमा लागेपछि कोटमौलाबासी लखपति मात्र भएका छैनन्, पूरै बस्तीबासीको मुहारै फेरिएको छ । Farmers of Bagchaur in Salyan earn more than 30 lakhs annually from the sale of oranges

आर्थिक वर्ष २०४३/०४४ देखि फाटफुट र २०५० देखि व्यावसायिक रूपमा सुन्तला खेतीमा लागेका कोटमौलाका सबै किसान विगतमा खाद्यबालीबाट बाह्रै महिना खान नपुग्दा सधैं मजदुरीका लागि भारतको कालापहाड जान बाध्य हुँदै आएका थिए । वर्षभरि छाक टार्न समस्या हुँदा मजदुरी गर्न र साहुसँग ऋण सापटी लिएर घरखर्च चलाउने उनीहरूलाई अहिले घरमै रोजगारी मिलेको छ । 

वार्षिक रूपमा एकै घरले लाखौं रकम भित्र्याउन थालेपछि रोजगारी मात्र नभई घरजग्गा, गाडी जोड्दै आएका छन् भने छोराछोरीलाई उच्च शिक्षा दिलाएका छन् । गाउँमै भएको घरलाई आकर्षक बनाएका छन् । घरसम्मै पुग्ने सडक बनाएका छन् । विगतमा काम खोज्दै हिँड्ने किसानहरू अहिले उल्टै एक जनाले चार/पाँच जनालाई रोजगारी दिँदै आएका छन् भने अरुलाई ऋण लगानी गर्न सक्षम भएका छन् ।

वार्षिक २८ देखि ३५ लाखसम्म कमाउँदै आएका उनै किसान भरतनाथ योगीले सुन्तला खेतीबाट आफ्नो मात्र नभई बस्तीबासीकै मुहार फेरिएको बताए । २०४४ सालतिर कृषिमा विकास कार्यालय सल्यानमा आएका प्रमुख रामप्रसाद पुलामीले सुन्तला उत्पादनका लागि राम्रो ठाउँ भएको र उनैले सुन्तलाका बोट लगाउन उत्साहित गरेको उनले जानकारी गराए । 

‘कृषि कार्यालयका प्रमुख पुलामीले उत्साहित गरेपछि मैले स्वास्थ्य कार्यालयमा जागिर खाँदै घरको खेतीबाली लगाउने जग्गामा सिम्लाबाट ल्याएको सुन्तलाका बिरुवा लगाएको थिएँ । सुन्तलाका बिरुवा लगाएपछि भोकै बस्नु पर्छ भनी बुबाले उखेलेर फालिदिनु भएको थियो । मैले तिनै बिरुवा ल्याएर फेरि रोपें र थप्दै गएँ । अहिले त्यसैको फल मिलेको छ,’ उनले भने, ‘जागिरबाट आएको तलबले घर खर्च ठिक्क हुन्थ्यो । सुन्तला बिक्री गरेर आम्दानी गरेको रकमले सहज रूपमा छोराछोरी पढाएको छु । जग्गाजमिन जोडेको छु । घरलाई चिटिक्क पारेको छु । वार्षिक १० देखि १२ जनालाई रोजगारी दिएको छु । केही रकम व्यापार व्यवसायमा लगानी गरेको छु ।’

सुन्तला बिक्री गरेर वार्षिक २० लाख रुपैयाँसम्म कमाउँदै आएका नेकपा समाजवादीका नेता लोकबहादुर डाँगीले कमाएको पैसाबाट व्यापार व्यवसाय गर्दै आएको र गाउँमा भएको घर चिटिक्क पारेको बताए । सुन्तलाबाट कमाएको पैसाले विगतमा लागेको ऋण तिरेको उनले जानकारी गराए । ‘विगतमा बेरोजगारीको समस्याका कारण घरखर्च चलाउन गाह्रो भएपछि म पनि मजदुरीका लागि पटक–पटक भारतका विभिन्न स्थानमा गएको थिएँ,’ उनले भने, ‘त्यहाँबाट फर्केर राजनीतिमा लागें । अहिले पनि राजनीतिसँगै सुन्तला खेती गरिरहेको छु । प्रत्येक वर्ष कमाइ हुने पैसाले घरका सबै समस्या समाधान भएका छन् ।’ 

बाग्चौर नगरपालिका–९ का वडाध्यक्ष यज्ञबहादुर डाँगीले विगतमा तीन महिना घरखर्च चलाउन गाह्रो हुने कोटमौलाबासी व्यावसायिक सुन्तला खेतीमा लागेपछि सबैको जीवनस्तरमा धेरै सुधार भएको बताए । सुन्तलाबाटै कमाएको रकमले प्रत्येक किसानले धेरै सम्पत्ति जोडेको, आफू बस्ने घर व्यवस्थित बनाएको उनले जानकारी गराए । उनका अनुसार घरघरमा सुन्तलाको बगैंचा बनाएका स्थानीय किसानले बस्तीभित्रका अन्यलाई समेत रोजगारी दिएका छन् । पछिल्लो समयमा बेलोबलामा विभिन्न रोगको प्रकोपका कारण किसानहरू समस्यामा परेको उनको भनाइ छ । 

कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी ईश्वरीनारायण घर्तीले जिल्लाभरिका किसानले १ हजार ८ सय बढी हेक्टरमा सुन्तला खेती गरेकामा बाग्चौर नगरपालिकाको कोटमौलामा मात्र ५ सय हेक्टरमा सुन्तला खेती गरिएको छ ।

बाग्चौर नगरपालिकाको कोटमौलाबाट गत वर्षसम्म १२ करोडको सुन्तला निकासी भएकामा यस वर्ष उत्पादन राम्रो भएकाले १५ करोड हाराहारी पुग्ने देखिएको उनले जानकारी गराए । जिल्लाभरिबाट गत वर्ष २९ करोडको सुन्तला निकासी भएकामा यस वर्ष ३५ करोड पुग्ने उनको भनाइ छ ।

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully