सुर्खेत — सुर्खेतको वीरेन्द्रनगर–२ को गिरीगाटमा राउटे समुदायलाई केन्द्रित गरी स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । सोमबार ४८ राउटे परिवारका १ सय ३७ जनाको स्वास्थ्य जाँच गरिएको हो ।
हर्ड नेपाल र नविल बैंकको आयोजनामा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा जंगलमा घुमन्ते जीवन बिताउँदै आएका राउटे समुदायका महिला, पुरुष र बालबालिकाको निःशुल्क स्वाथ्य जाँच गरी औषधि वितरण गरिएको थियो । वर्षौंदेखि फिरन्ते जीवन बिताउँदै आएका राउटेहरूलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतका सर्जन डा. सुजन सापकोटाको नेतृत्वमा चार जना विशेषज्ञ चिकित्सकले सेवा दिएको हर्ड नेपालका कार्यकारी निर्देशक राकेशकुमार यादवले बताए । ‘राउटे समुदायमा प्राथमिक उपचार गरिएको छ, यहाँका थप स्वास्थ्य समस्या बुझेर अबका दिनमा थप उपचारको व्यवस्था मिलाउने छौं,’ उनले भने ।
‘राउटे समुदायमा मौसमी रुघाखोकी, निमोनिया, छाला रोग र ग्यास्टिकको समस्या बढी रहेछ,’ कर्णाली प्रदेश अस्पताल सुर्खेतका सर्जन डा. सोपकोटाले भने, ‘केही महिलामा पाठेघर र ढाड दुख्ने समस्या पनि देखिएको छ ।’ समुदायमा जुका, भिटामिन, आइरन चक्की लगायतका औषधि पनि वितरण गरिएको थियो ।
