सल्यानमा यो वर्ष धान उत्पादन बढ्यो

पुस २६, २०८१

विप्लव महर्जन

Paddy production increased this year in Salyan

सल्यान — सल्यानमा यो वर्ष धान उत्पादन बढेको छ । गत वर्ष भन्दा यो वर्ष ३ सय १९ मेट्रिक टनले धान उत्पादनमा वृद्धि भएको हो । 

कृषि विकास कार्यालय सल्यानका अनुसार गत वर्ष ०८०/०८१ मा ६ हजार २९ हेक्टर क्षेत्रफलमा २८ हजार ५ सय ५९ मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष ६ हजार हेक्टरमा २८ हजार ८ सय ७८ मेट्रिक टन उत्पादन भएको हो । 

मौसम अनुसार भएको बर्सात, सिँचाइको सहजता र हाइब्रिड बिउका कारण जिल्लामा धान उत्पादन गर्ने क्षेत्रफल घटे पनि उत्पादन बढेको कृषि विकास कार्यालय सूचना अधिकारी ईश्वरी नारायण घर्तीले बताए । गत वर्ष भन्दा यो वर्ष धान खेती गर्ने २९ हेक्टर क्षेत्रफल घटेको उनले जानकारी गराए ।  

उनका अनुसार २०७९/०८० मा ७ हजार ६६ हेक्टरमा जिल्लाका किसानले धान खेती गरेका थिए । जसमा ३० हजार ५ सय ६ मेट्रिक टन उत्पादन भएको थियो । उनले भने, 'युवा पुस्ता सबैजसो बिदेसिएकाले खेती गर्नेको सङ्ख्या घट्दै गएको छ । खेतमा धमाधम घर बन्न थालेकाले क्षेत्रफल घटेको हो ।' 

छत्रेश्वरीमा यो वर्ष किसानले लगाएको धानमा फेद कटुवा रोग लागे पनि उत्पादन भने नघटेको प्राविधिक गणेश भण्डारीले बताए । छत्रेश्वरी गाउँपालिकाको शारदा नदी आसपास, सांघार र दारिमज्युलामा धान खेती हुने गरेको उनले जानकारी गराए । 

जिल्लाको शारदा  नदीको आसपास, छत्रेश्वरी गाउँपालिकाको रेसमज्युला, त्रिवेणीको लुहामखोला, कुमाख गाउँपालिकाको मर्मखोला, वनगाड कुपिण्डे नगरपालिकाको संग्रहीज्युला, वनगाड खोला, कालीमाटी गाउँपालिकाको बबई नदी लगायतका खोलाको आसपासका खेत र शारदा नगरपालिकाको शारदा नदीको आसपास मात्र नभई बासखोला आसपासका क्षेत्रमा धान उत्पादन हुने गरेका छन् । जिल्लामा हुने धान उत्पादनबाट कुल जनसंख्याको झन्डै ४० प्रतिशत आत्मनिर्भर छन् ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully