जुम्लाका साढे सात हजार घरमा बिजुली 

पुस २४, २०८१

डीबी बुढा

Electricity in seven and a half thousand houses in Jumla

जुम्ला — कुनै बेला टुकीको उज्यालोमा रात गुजारिरहेको जुम्ला अहिले झिलिमिली बनेको छ । जिल्लाका साढे सात हजार घरमा अहिले नेपाल विद्युत प्राधिकरणले विद्युत वितरण गरेको छ।

नेपाल विद्युत प्राधिकरणले ७ हजार पाँच सय घरमा बिजुली पुर्‍याएको हो । गाउँ-गाउँमा बिजुली पुग्दा विद्युतीय उपकरणको प्रयोग पनि बढ्दो छ । 

पहिले साना माइक्रो हाइड्रो बनाएर साना क्षमताको बिजुली बाल्ने गरिएको थियो । अधिकांश गाउँहरू सल्लाको दियालो बालेर गुजारा चलाइरहेका थिए । अहिले जिल्लाका अधिकांश वडाहरूमा बिजुली पुगिसकेको छ । जिल्लामा आठ स्थानीय तह छन् ।

प्राधिकरणको जुम्ला वितरण केन्द्रका प्रमुख अशिष शाहले सबै स्थानीय तहमा विद्युत सेवा वितरण भइसकेको बताए । अहिले बिजुलीको अभावमा सरकारी तथा गैरसरकारी कार्यालयमा काम रोकिएको छैन । बरु विद्युतीय उपकरणहरू चलाएर फाइदा लिइरहेका छन् । पछिल्लो दुई महिना मिटर अभावका कारण लाइन बिस्तारमा ढिलासुस्ती भएको प्राधिकरणले जनाएको छ ।

अहिले प्राधिकरणले पातारासीको चुकेनी, चन्दननाथ घुघुती र तातोपानीको जालपादेवीको बिजुली खरिद गरेर सेवा दिइरहेको छ । अहिले जालपादेवीको २१४ किलोवाट, घुघुतीको ११० किलोवाट र चुकेनीको एक मेगावाट बिजुली खपत भइरहेको छ । राष्ट्रिय प्रसारण लाइनको बिजुलीले सिंजाक्षेत्रमा उज्यालो दिइरहेको छ । पहिले बिजुली नहुँदा जुम्ला अन्धकार थियो । बिद्युतीय उपकरणहरू सञ्चालनमा समस्या थियो ।

उद्योग कलकारखानाहरू चलाउन मुस्किल थियो । तर अहिले धान कुट्ने, पिठो पिस्ने, काठ च्यात्ने मेसिनहरू गाउँमै पुगेका छन् । अबको दुइ वर्षमा हरेक जुम्लाबासीको घरमा बिजुली पुर्‍याउने प्राधिकरणको लक्ष्य छ । सोही अनुसार नयाँ परियोजना सुरु भइसकेको छ । प्रमुख शाहले भने, ‘दुई वर्षमा हरेक घरमा बिजुली पुग्नेछ । बाल्ने नबाल्ने उनीहरूको चाहनाको कुरा हुनेछ ।’

अहिले बिजुलीको महसुल तिर्ने देखि मर्मतको लागि कार्यालयमै आउनुपर्ने अवस्था छैन । बिजुली पुग्दा बालबालिकाको पठनपाठन राम्रो बनेको छ । हरेक विद्यालय र सरकारी कार्यालयमा डिजिटल प्रविधिको प्रयोग हुन थालेका छन् । नेत्र ज्योति माबि हाँकुका प्रधानाध्यापक जाज्वल्यराज न्यौपानेले बिजुली पुगेपछि जुम्ला डिजिटल युगसँग जोडिएको बताए । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully