सल्यान — डिभिजन वन कार्यालय सल्यानले जंगली जनावरले बालीनाली क्षति पुर्याएको र चौपाया मार्दा पीडित भएका जिल्लाका ७९ किसानलाई क्षतिपूर्ति स्वरूप राहत वितरण गरेको छ ।
जिल्लाको शारदा नगरपालिका, कालीमाटी, छत्रेश्वरी र कपुरकोट गाउँपालिकाका किसानलाई कार्यालयले राहत वितरण गरेको हो ।
चार पालिकाका ७८ किसानलाई ५ हजारका दरले ३ लाख ९० हजार र बाघले १० बाख्रा मारेका कालीमाटी गाउँपालिका ७ का एक किसानलाई १ लाख गरी ७९ जनालाई ४ लाख ९० हजार राहत वितरण गरिएको डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलले बताए ।
सरकारले गत वर्षदेखि जंगली जनावरले बालीनाली क्षति पुर्याएको र चौपाया मारेको किसानलाई राहत दिने कार्यक्रमअनुसार नै वितरण गरिएको उनले जानकारी गराए । उनका अनुसार जिल्लाका १ सय ११ किसानले जंगली जनावरले बालीनाली क्षति पुर्याएको र चौपाया मारेको भन्दै राहतका लागि निवेदन दिएका थिए ।
निवेदन दिएका मध्ये ३२ जनाको विवरण केन्द्रमा पठाएको र केही दिनभित्र नै उनीहरूलाई पनि राहत वितरण गरिने कार्यालय प्रमुख रावलले जानकारी गराए । पछिल्लो समयमा जिल्लामा बढ्दै गएको जंगली जनावर, बँदेल, बाँदर , रतुवा, घोरल, दुम्सी र निकुञ्ज क्षेत्रमा बढेको बाघका कारण जिल्लावासी प्रभावित हुँदै आएका उनको भनाइ छ ।
