सल्यान — जिल्लाको बाग्चौर नगरपालिका–९ डाँगीगाउँको जुमखोली टोलको एक घरमा भण्डारण गरिएको सुन्तलामा आगलागी भएको छ । नारायणगढका ठेकेदार तथा खरिदकर्ता सन्तोष बस्नेत र महेन्द्र ओलीले जिल्लाका विभिन्न गाउँबाट सुन्तला खरिद गरी त्यहाँ भण्डारण गरेका थिए ।
खरिदकर्ताले स्थानीय किसानसँग किनेर क्यारेट, डोको तथा घरको आँगनमा त्रिपालले छोपेर राखेको अवस्थामा बिहीबार बिहान ४ बजेतिर आगलागी भएको हो ।
आगलागीबाट ८५ क्यारेट र पाँच डोकामा राखेको सुन्तला नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।
आगलागीको कारण भने खुलेको छैन । इलाका प्रहरी कार्यालय थारमारेको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । प्रहरीले सुन्तला खरिदकर्ता, स्थानीयलाई छलफलका लागि बोलाएको उनको भनाइ छ ।
