जुम्ला — जुम्लाको कनकासुन्दरी गाउँपालिकाका आठ वटा विद्यालयमा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । विज्ञान प्रयोगशाला सञ्चालनमा आएपछि विज्ञान विषयको पठनपाठन निकै सहज बनेको छ । पाण्डवगुफा माध्यमिक विद्यालयका प्रधानाध्यापक हस्तबहादुर भण्डारीले विज्ञान प्रयोगशालाबाट सिकाइ उपलब्धिमा सहयोग मिलेको बताए ।
उनले भने, ‘पहिले विद्यालयमा विज्ञानको सैद्धान्तिक कक्षमात्र लिइरहेका विद्यार्थीहरु अहिले प्रयोगशालामा व्यवहारिक कक्षसमेत लिइरहेका छन् । यो हरेक विद्यालय र विद्यार्थीका लागि सुखद् कार्य हो ।’ विज्ञान विषय लिएर उच्च शिक्षा लिन चाहने विद्यार्थीहरुका लागि सुनौलो अवसरसमेत हो ।
कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यले पालिकाभित्र रहेका आठवटै विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना भइसकेको बताए । उनले भने, ‘अब कुनै पनि विद्यार्थी विज्ञान विषयको व्यवहारिक कक्ष लिन पाइएन भन्दै गुनासो गर्न पाइनेछैन । ’
'प्रयोगशालाले विज्ञान विषयको अध्ययन र अध्यापनलाई निकै सहज बनाएको छ,' अध्यक्ष आचार्यले भने,‘विज्ञान विषयमा विद्यार्थीको पहुँच बढाएको छ । साधन र स्रोतयुक्त विद्यालय निर्माण गर्नमा प्रेरणा दिइरहेको छ ।’
अध्यक्ष आचार्यले गुणस्तरीय,सीपमुलक र व्यवहारीक शिक्षा व्यवस्थापन गर्ने, नैतिक प्राविधिक, व्यवहारिक, व्यावसायिक र प्रयोगात्मक शिक्षा सञ्चालन गर्ने, प्रविधिमैत्री शिक्षक र विद्यार्थी उत्पादनमा जोड दिने कार्यमा जोड दिएको बताए ।
प्रयोगशाला स्थापनाले शिक्षक, विद्यार्थी र अभिभावकमा हौसला थपिएको छ । अध्यक्ष आचार्यले थपे, ‘विद्यार्थीले रटन्ते शिक्षामात्र आर्जन गरेर बेरोजगारी जनशक्ति उत्पादन गर्नेभन्दा प्रयोगात्मक कार्य गरेर सीपयुक्त जनशक्ति उत्पादनमा जोड दिइएको अवस्था छ ।’
कनकासुन्दरी-८ मा पर्ने कोटघर माध्यमिक विद्यालयमा कक्ष ८,९ र १० का २०४ जना विद्यार्थीले प्रयोगशालाबाट सिकाइ उपलब्धि हासिल गरिरहेका छन् । प्रधानाध्यापक भण्डारीले प्रयोगशाला स्थापनाले उच्च शिक्षामा विज्ञान पढ्न चाहने विद्यार्थीका लागि हौसला प्रदान भइरहेको बताए ।
पालिकाले हरेक विद्यालयमा अनुगमन गर्दा विज्ञान विषयको प्रयोगशाला नहुँदा समस्या भइरहेको शिक्षक विद्यार्थीले गुनासो गरेका थिए । 'प्रयोगशाला सुरु त भए,' अध्यक्ष आचार्यले भने, ‘अब प्रयोगमा आइरहेका छन् या थन्किएका छन् । पटकपटक अनुगमन हुन्छ ।’
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले कनकासुन्दरीले मावितहका विद्यालयमा प्रयोगशाला सञ्चालनमा ल्याउन सक्नुले शिक्षामा सकारात्मक सन्देश फैलाइरहेको बताए । उनले प्रयोगशालामा प्रयोग हुने सामानहरुको सही र सुरक्षित प्रयोग गर्नसमेत आग्रह गरे ।
एक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गर्न साढे ३ लाख रुपैयाँदेखि चार लाख रुपैयाँसम्म खर्च भएको देखिएको छ । विज्ञान प्रयोगशालाको सामान खरिद गर्न दातृ निकायले साथ दिएको पालिका अध्यक्ष आचार्यले बताए ।
