जुम्ला — भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लाको जैसिमेटबाट घर फर्किएका जुम्लाका दुई युवा सम्पर्कविहीन भएका छन् । चन्दननाथ नगरपालिका-१ कुलालबाडाका विकास कुलाल र हरिबहादुर कुलाल मंसिर २२ गतेबाट परिवारको सम्पर्कमा नआएका हुन् ।
परिवारका अनुसार भारतमा रोजगारी खोज्दै गएका उनीहरू मंसिर २० गते गाउँकै काशीराम कुलाल नाम गरेका व्यक्तिसँग नेपालगन्जसम्म आइपुगेका थिए । काशीरामले भारतको जैसीमेटमा राम्रो काममा लगाइदिने भनेपछि नेपालगन्जबाट घर नआई अन्तै हिँडेका थिए ।
मंसिर २२ मा काशीरामले आफूहरू भारतको जैसिमेट पुगेको भन्दै आफन्तलाई जानकारी दिएका थिए । विकासकी आमा उजेलीले भनिन्, ‘२३ गते एक्कासी विकास र हरि बहादुर बिरामी भएको खबर आयो । काशीरामले काम गर्न नसक्ने भएकोले नेपाल आउने गाडीमा पठाइदिएको खबर गरे । तर अहिलेसम्म दुवै जना घरपरिवारको सम्पर्कमा छैनन् ।’
विकास र हरि बहादुरकी आमा दुवै एकल महिला हुन् । यति बेला उनीहरू छोराहरू खोजिदिन भन्दै हारगुहार गरिरहेकी छन् । उजेलीका अनुसार काशीरामले टिकट काटेर नेपाल पठाइदिएको भने पनि उनीहरू नेपाल आए नआएको विषयमा यकिन सूचना छैन ।
‘छोरा खोजीदिन जिल्ला प्रहरी कार्यालयमा पुग्यौँ,' उजेलीले भनिन्, ‘प्रहरीले भारतको कुरा हेर्न मिल्दैन भन्दै फर्काइदिन्छ । खोजिदिने निकाय को होला ?’ उनीहरूले छोराहरू खोजिदिन सांसददेखि जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालयमा पुगेर अनुनय विनय गरिरहेका छन् ।
हरि बहादुर र विकास पहिलो पटक भारत गएका हुन् । भारतसँग अपरिचित भएकोले पनि समस्या देखिएको छ । न हामीसँग छोराहरू खोज्न जाने पैसा छ,नत खोज्न पठाउन मिल्ने मान्छे नै, उजेलीले भनिन्, 'उनीहरू नै नभेटिएपछि यो संसारमा हाम्रो भन्नु कोही छैन । मर्नु बाहेक विकल्प पनि देखिँदैन ।’
