दियालोका बचतकर्ता आन्दोलनमा 

पुस १३, २०८१

डीबी बुढा

In the Savers Movement of Diallo

जुम्ला — जुम्लामा दियालो बहुद्देश्यीय सहकारी संस्थाका बचतकर्ता आन्दोलनमा उत्रिएका छन् । बचत गरेको समय पुगिसकेको भए पनि दियालो सहकारीले बचत फिर्ता गर्न आलटाल गरेपछि बचतकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले तत्काल आफ्नो बचत र ब्याज स्वरुप आउने रकम उपलब्ध गराउन माग गरेका छन् । 

नेपाल पत्रकार महासंघ शाखा जुम्लाको कार्यालयमा शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै बचत फिर्ता संघर्ष समितिले बचत पाउन निकै प्रयास भए पनि कुनै सुनुवाइ नभएपछि आन्दोलनको बाटो राज्न बाध्य भएको जनाएको हो । उनीहरुले धर्मनन्द धितालको संयोजकत्वमा बचत फिर्ता संघर्ष समिति गठन गरेर आन्दोलन थालेका छन् । उनीहरुले दियालो सहकारी घेर्ने, सडकमा प्लेकार्डसहित बचत फिर्ताको माग गर्नेदेखि जिल्ला प्रशासन प्रहरी कार्यालयमा समेत ध्यानाकर्षण गराउँदै आएका छन् । 

संघर्ष समितिका संयोजक धितालले बारम्बार बचत माग्न जाँदा आश्वासनबाहेक केही पाउन नसकेको बताए । उनले भने, ‘हामी पटकपटक बचत फिर्ताको लागि गयौं । कर्मचारीहरुबाट विभिन्न मितिमा दिने भनेर भाका तोकियो तर बचत फिर्ता हुन सकेन् । बाध्य भएर सडकमा उत्रिनुपरेको छ ।’ 

उनीहरुले सहकारीका व्यवस्थापक दीपक शाह कामको बाहना बनाउँदै जिल्ला बाहिर गइरहने र अध्यक्ष टेकबहादुर शाही भारतको कोलकातामा रहेकोले थप शंका उत्पन्न गराएको बताएका छन् । 

दियालोले विभिन्न अफर र स्किमका नाममा सर्वसाधारण नागरिकको रकम हिनामिना गरेको आरोप बचत कर्ताको छ । 

दियालोका व्यवस्थापक दीपक शाह आगामी चैत सम्म सबैको बचत फिर्ता गर्ने तयारी भइरहेको बताइरहेका छन । शुक्रबार मात्र जुम्ला पुगेका व्यवस्थापक शाहले बचतकर्ताको बचत फिर्ता गर्ने पर्ने बताए । उनका अनुसार दियालोले अहिले २८ करोड ऋण उठाउन बाँकी छ । बचतकर्ताको फिर्ता गर्नुपर्ने रकम १८ करोड छ । अहिले ऋण उठाउने काम भइरहेकोले बचतकर्ताको रकम चैतसम्म दिइसक्ने उनको भनाइ छ । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully