चिसो छल्न रारामा भित्रिए विदेशी चरा 

पुस १२, २०८१

कृष्णप्रसाद गौतम

A foreign bird entered Rara to escape the cold

सुर्खेत — विभिन्न देशबाट चिसो छल्न रारातालमा चरा आउने क्रम सुरु भएको छ । वर्सेनि हिउँदको समयमा रारामा युरोप, चीन, साइबेरिया, भारतलगायत देशबाट कमकुट, बाटरफल्व, लिटिलक्रिट, टपटेक, ग्रिट, म्यासेन्जर, खोया हाँसलगायत विदेशी चरा आउने गरेका छन् ।

ती चराहरू गर्मी महिना सुरु भएसँगै झन्डै ५ महिनापछि साइबेरिया, युरोप, मंगोलिया, मानसरोवरलगायत क्षेत्रमा फर्कन्छन् । विदेशी चराहरू बसाइँ सरी आएपछि राराक्षेत्र गुल्जार बनेको छ भने रारातालको सौन्दर्य बढाएको छ । यस वर्ष पहिलोपल्ट साइबेरियाबाट कमन मोरियन जातको चरा आएको छ । 

रारातालमा बर्सेनि आउने ४९ मध्ये झन्डै १५ प्रजातिका चरा आइसकेको रारा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी धर्मजीत साउदले बताए । ‘अहिले राराताल चरामय बनेको छ,’ उनले भने, ‘जाडोमा पनि तालको पानी तातो हुने र पर्याप्त आहारा पाइने भएकोले विदेशी चराको आकर्षण बढेको हो ।’ गत वर्ष २५ प्रजातिका चरा रारामा आएका थिए । ‘उफ्रिँदै चराले हिउँ खेलेको दृश्य हेर्दा पर्यटक रमाउँछन्,’ सूचना अधिकारी साउदले भने, ‘मिलिचौर, ठाकुरज्यूला, ओखरबोट, निजारलगायत क्षेत्र पनि चराले भरिएका छन् ।’ 

आहारा खोज्न ताल मिसिएका स–साना खोलातिर पानीजन्य चराको घुइँचो हुन थालेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले बताए । उनका अनुसार पाहुना चरा आहारा खोज्न मुर्मा, झयारी, माथि तुम, ताल्चालगायत बस्तीसम्म पुग्ने गरेका छन् । मंसिर महिना सुरु भएपछि तालदेखि जंगल क्षेत्रमा विभिन्न प्रकारका ठूला–साना चराको नौलो आवाज सुन्न सकिने र प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिने उनको भनाइ छ । 

चिसोले गर्दा रारामा पर्यटकको संख्या घटेको भए पनि पाहुना चराको संख्या बढ्दै गएको हुटुस्थित भिलेज हेरिटेज रिसोर्टका प्रवन्धक दिपक रावतले बताए । गत वर्ष नेपाल पंक्षी संरक्षण संघबाट खटिएको ३ सदस्यीय विशेषज्ञ टोलीले रारामा फिरन्ते चराबारे अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानमा रारामा १ सय ४ वटा प्रजातिका चरा फेला परेका थिए । 

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully