ढुंगा निकाल्ने क्रममा ढिस्कोले पुरिएर सल्यानमा १ जनाको मृत्यु

पुस १२, २०८१

विप्लव महर्जन

1 person died in Salyan after being buried by a mound while extracting stones

सल्यान — घर बनाउनका लागि खानीबाट ढुंगा निकाल्दै गर्दा खसेको ढिस्कोले च्यापिएर सल्यानमा शुक्रबार एक जनाको मृत्यु भएको छ । कुमाख गाउँपालिका–७ सानी जिमाली बस्ने ४४ वर्षीय पोथे बोहराको मृत्यु भएको हो । 

घरदेखि केही टाढा पर्ने डाङ्गर पुज्ने डाँडास्थित सामुदायिक वनमा रहेको खानीबाट ढुंगा निकाल्दै गर्दा माथिबाट ढुंगासहित खसेको ढिस्कोले च्यापिएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक केसरकुमार न्यौपानेका अनुसार स्थानीय राकेश जैसीले घटनाको बारेमा जानकारी गराएपछि शुक्रबार बिहान ९ बजे इलाका प्रहरी कार्यालय थारमारेको टोली घटनास्थलमा पुगेर ढिस्कोले च्यापिएर मृत्यु भएका बोहराको शव निकाली मुचुल्का उठाइ पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको छ । घटनाको थप अनुसन्धान भने भइरहेको उनको भनाइ छ । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully