सल्यान — जिल्लाको त्रिवेणी गाउँपालिकाले चालु आर्थिक वर्षदेखि वडाबाटै योजना सम्झौता सुरु गरेको छ । सर्वसाधारणको सहजताका लागि तथा पालिकामा धाउनुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाले वडाबाटै योजना सम्झौता सुरु गरेको हो ।
पालिकाले ६ वडामध्ये ४ र ५ मा सम्झौताको काम सकिसकेको छ भने अन्यमा सम्झौता प्रक्रियालाई अगाडि बढाएको छ । वडाबाटै योजना सम्झौता हुन थालेपछि पालिकाका सर्वसाधारण तथा सेवाग्राहीलाई राहत मिलेको बताइएको छ ।
सेवाग्राहीले विगतमा विभिन्न किसिमका समस्या भोग्दै आएको र सानोतिनो योजनाका लागि पालिका आउनुपर्ने बाध्यताको अन्त्य गर्न वडाबाटै योजना सम्झौताको काम गरिएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतले जनाए ।
वडाबाट उपभोक्ता समितिमार्फत हुने सबै खालका योजना सम्झौता भइरहेको उनको भनाइ छ । योजना सम्झौता गर्न टाढाबाट आउनुपर्ने र कहिले कर्मचारी फिल्डमा गएका बेला सर्वसाधारण त्यत्तिकै घर फर्कनुपर्ने समस्या अब हटेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसिले बताए । वडाबाट योजना सम्झौता मात्र नभई बैंक खाता खोल्ने काम पनि भइरहेको उनले बताए ।
पालिकाले वडाबाटै योजना सम्झौताको काम अगाडि बढाएपछि स्थानीय उपभोक्तालाई धेरै सहज भएको र दौडधुपसमेत गर्न नपरेको त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष छविराज शर्माले पनि दाबी गरे ।
