महिना दिनपछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला

शिक्षक, कर्मचारी काममा फर्किए

पुस ४, २०८१

डीबी बुढा

After a month, the lock of the Karnali Institute of Health Sciences was opened

जुम्ला — बढुवाको माग गर्दै ३२ दिनदेखि आन्दोलनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका शिक्षक कर्मचारीहरु काममा फर्किएका छन् । उनीहरुले प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल, रजिष्टार नृपेन्द्र महत, रेक्टर डा. डबलबहादुर धामी र शैक्षिक तथा प्रशासनिक कक्षमा लगाएको तालासमेत खुलाएका छन्।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पत्रकार सम्मेलन आयोजना गरेर आन्दोलनका कार्यक्रम स्थगित गरेर काममा फर्किएको उनीहरुले बताए । प्रतिष्ठानका उपकुलपति डा. रावलबाट शिक्षक कर्मचारीका माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता प्राप्त भएपछि आन्दोलनका कार्यक्रम सबै स्थगित गरेको लेखा अधिकृत इन्द्रराज डाँगीले जानकारी दिए । उनका अनुसार नियमावली अनुसारको तलबभत्ता नपाएको र शिक्षक कर्मचारीको बढुवा नगरेको भन्दै शिक्षक कर्मचारी आन्दोलनमा उत्रिएका थिए । 

शिक्षक कर्मचारी बढुवाको माग गर्दै उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा हालेका थिए । अदालतले गत भदौ २६ गते शिक्षक कर्मचारीको पक्षमा फैसला सुनाएको थियो । फैसला कार्यान्वयन नभएको भन्दै २०८१ कात्तिक २६ गतेदेखि विभिन्न दबाबमूलक कार्यक्रम गरेका शिक्षक कर्मचारीले कात्तिक २७ गते पदाधिकारी र कर्मचारीहरूबीच दुई पक्षीय वार्ता गरेका थिए । वार्तामा कार्यकारी परिषद्‌ले स्तरवृद्धि गर्ने निर्णय गरी सभामा अनुमोदनका लागि पेस गर्ने सहमति गरेको थियो । 

उनीहरुले निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘२०८१ कात्तिक २८ गते प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न सभाले कार्यपरिषद्‌ले गरेको निर्णय अनुमोदन गरेको भए पनि उपकूलपतिले निर्णय कार्यान्वयनमा आलटाल गरेपछि समस्या थपिएको थियो ।’

निर्णय कार्यान्वयन नहुने स्थिति देखिपछि मंसिर ३ गतेदेखि प्रतिष्ठानमा ताला लागेको थियो । शिक्षक कर्मचारीहरुले मंसिर ४ र ५ गते जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठकसमेत बोलाएका थिए । त्यहाँदेखि पनि समाधान निस्कन नसकेपछि आन्दोलन थप कडा बनाएका थिए । 

‘आन्दोलनको क्रममा रजिस्ट्रारबाट गठित वार्ता समितिसँग पटक–पटक छलफल भएपछि २०८१ पुस ४ गते उपकूलपतिबाट छुट पदहरू समेत सम्बोधन गरिने लिखित प्रतिबद्धता प्राप्त भएको साथै, गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचना र त्यस सूचनामा छुट भएका पदहरूको सम्बन्धमा थप स्पष्टता आउने वचन दिइएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

लामो समयसम्म ताला लागेपछि प्रतिष्ठानका प्रशासनिक तथा शैक्षिक कार्यक्रमहरु प्रभावित भएका थिए । प्रतिष्ठानका ५८ जना शिक्षक कर्मचारी आन्दोलनमा थिए । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully