रुकुम पश्चिम — सुनसान खोला, केही पानी घट्ट अनि एक–दुई वटा साना घर र पाठशाला । बाँकी सबै ठाउँमा कतै खेत–खल्यान त कतै जंगल । सानीभेरी गाउँपालिका–९ मा पर्ने सिम्लीको १५ वर्ष पहिलेको यो दृश्य स्थानीय ७४ वर्षीय महाविर खड्काको स्मरणमा ताजै छ ।
तर समयसँगै फेरियो सिम्लीको स्वरुप र सुन्दरता । सडकको सहज पहुँचमा जोडिएसँगै २०६५ सालयता यो ठाउँ गुलजार बन्दै जान थालेको छ ।
‘पहिले त यहाँ हाम्रा खेत थिए । त्यो बेला औल लाग्छ भनेर घर बनाएर बस्नेबारे कहिल्यै सोचिएन ।’ महाविर थप्छन्, ‘अहिले यही ठाउँमा घर बनाएर बस्नेको हानथाप छ । कस्तो थियो, कस्तो भयो ।’
साविक सिम्ली गाउँ विकास समिति वडा नं. १ मा पर्ने सिम्ली गाउँपालिकाको केन्द्र पनि हो । सुरुमा वडा नं. ९ मा मात्रै सिमित सिम्लीको बजार अहिले फैलिएर पश्चिमपट्टीको खोला पारी वडा नं. ८ र पक्की पुल बनेसँगै सानीभेरी नदीपारिको वडा नं. ३ गरायलासम्म बजार र बस्ती विस्तार भएको छ ।
घरहरु बढ्दै गएपछि खेतीयोग्य जमिन त माँसिदै गइरहेको छ । तर सर्वसाधारणको दैनिकीमा यसले सहजता ल्याएको स्थानीय शिक्षक हेमन्त भण्डारी बताउँछन् । ‘केही पाउन केही त गुमाउनैपर्छ । यहाँ बजार बनेपछि गाउँको कृषि उपज र उत्पादनले बजार पायो । केहीलाई रोजगार पनि मिलेको छ । हाम्रो दैनिकी सहज भएको छ,’ उनी खुसी हुदैं भन्छन् ।
अहिले सिम्लीमा गाउँपालिकाको केन्द्रका साथै कक्षा १२ सम्म पढाई हुने विद्यालय, स्नातक तहसम्मको क्याम्पस, पालिका अस्पताल र प्रहरी चौकी पनि छ । यससँगै एक महत्वपुर्ण विकासको संरचना भनेको मध्यपहाडी लोकमार्ग हो ।
यस विषयमा भण्डारी थप्छन्, ‘२०६५ तिर निर्माण थालिएको सडक त्यसको केही वर्षमा जिल्ला सदरमुकामसँग जोडियो । अहिले त्यही सडक नै मध्यपहाडी लोकमार्गका रुपमा विकास भएको छ । यसले आवागमनमा त सहजता ल्याएको छ नै संगसंगै बजार विस्तारमा पनि सडकको निकै अर्थ छ ।’
सिम्ली क्षेत्रमा करिब १ सय वटा विभिन्न साना ठूला पहल र केही होटेल रहेको स्थानीय व्यवसायी अशोक डिसी बताउँछन् । पालिकाका कुल ११ वटै वडा र छिमेकी पालिकाहरु चौरजहारी तथा मुसीकोटका केही स्थानबाट समेत सर्वसाधारण किनमेलका लागि सिम्लीसम्म आउने गरेको डिसीको भनाई छ ।
पहिला आफूहरुको घर यही वडाभित्र अलि माथि पर्ने तर पछि व्यापार हुने देखेपछि बसाइँ सरेर यहाँ आएको पनि डिसीले बताए । फराकिलो र पक्की मध्यपहाडी लोकमार्ग बनेपछि रुकुमका विभिन्न स्थानबाट सुर्खेत, नेपालगञ्ज लगायतको पश्चिम भेगमा आवतजावत गर्ने बाटोमै पर्ने सिम्ली बजारमा रारा र फोक्सुन्डो जाने पर्यटकहरु पनि यही बाटो भएर आउने गरको स्थानीय होटेल व्यवसायी चक्र केसीको भनाइ छ ।
‘सुरुमा सानो लगानीमा हाटेल व्यवसाय थालेका हामीले सडक र बजारको विकाससँगै होटेलमा पनि लगानी बढायौं । अहिले पोखरा–काडमाडौंतिरबाट रारा–फोक्सुन्डो ताल घुम्ने जाने र अरु पनि धेरै पर्यटकहरु बास बस्न आउँछन् । व्यापार राम्रो छ,’ उनी भन्छन्, ‘हामी सानो हुँदा डराई–डराई स्कुल आएर फकिन्थ्यौं । अहिले त यही ठाउँ रहरलाग्दो भयो । गजव भयो ।’
सिम्लीको बजार विस्तार भएसंगै यहाँ घर–जग्गाको कारोबार पनि हृवात्तै बढेको केसी बताउँछन् । ‘बितेको १० वर्षयता घरजगाको किनबेच निकै भयो । अहिले त ठाउँ नै छैन । तैपनि मान्छेहरु वरिपरिका डाँडा–पाखामा समेत घर बनाउन कस्सिएका छन् ।’
सिम्लीको विकासलाई समृद्धिसँग जोड्ने गाउँपालिका पनि गम्भीरतापूर्वक लागिरहेको पालिका उपाध्यक्ष कमला रोका बताउँछिन् । ‘यो ठाउँलाई व्यवस्थित गर्न र थप विकास एवम् विस्तार गरी जिल्लाको मुख्य बजारका रुपमा अघि बढाउन हाम्रो सकेको पहल–कदमी छ । चाँडै नै हामी गुरुयोजना बनाएर अघि बढ्ने सोचमा छौं ।’
