रुकुम पश्चिम — झन्डै ३८ वर्षअघि बनेको चाइना बगरको झोलुंगे पुल अहिले जीर्ण बनेको छ । रुकुम र जाजरकोटलाई जोड्न भेरी नदीमाथि बनाइएको यो पुलमा यतिबेला सर्वसाधारण जोखिम मोलेर आवतजावत गरिरहेका छन् ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ र १ चाइनाबगर र जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाको भूगोललाई जोड्ने यो पुलमा मान्छेसँगै दुईपाङ्ग्रे सवारी साधन समेत तार्ने गरिएको छ । यो नजिकै मोटरेबल पुन नहुँदा विगत एक दशकयता यही पुलमा मोटरसाइकल र स्कुटी पनि वारपार गराइँदा पुलमा थप भार परेको हो ।
यो पुल २०४३ सालमा बनेको सानीभेरी–१ का वडाध्यक्ष टेकबहादुर पुनले बताए । बीच–बीचमा धेरै ठाउँमा पुल वरिपरिको जाली कमजोर भएको छ भने तलका फल्यागहरू समेत खसेकाले काठ राखिएको छ । तर त्यो काठ पनि कमजोर हुँदा जोखिम भएको स्थानीय पुर्वान विकले बताए । ‘यो पुलमा दिनमा सयभन्दा बढी मान्छे र करिब १०–१५ वटा बाइक यताउता गर्छन् । सबैलाई मुस्किल भएको छ । तर यसको उपाय केही लागेन,’ उनले भने, ‘धेरै वर्ष पहिले एकपल्ट यो पुल मर्मत गरिएको थियो । त्यसपछि यसमा कसैको नजर परेन ।’ 
पुल मर्मतका बारेमा पालिकामा गम्भीरतापूर्वक कुरा उठाएको वडाअध्यक्ष पुनले बताए । पुल मर्मतका लागि कर्णाली प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजन गरेको पनि उनले बताए ।
