आर्थिक अभावमा शल्यक्रिया गर्न नसक्दा यहाँका नन्दकली कँवर हुन् या कृष्णबहादुर खत्री अथवा मनबहादुर विक –दुई दशकदेखि शरीरमा बमका छर्रा बोकेर हिंड्न बाध्य
सल्यान — कालिमाटी गाउँपालिका–६ का ४९ वर्षीय कृष्णबहादुर खत्री दुई दशकदेखि शरीरमा बमका छर्रा बोकेर हिंड्न बाध्य भएका छन् । २०५२ सालेदेखि सुरु भएको तत्कालीन माओवादी जनयुद्धका बेला विभिन्न स्थानमा नेपाली सेनासँग भिडन्त हुँदा उनको शरीरमा बमका छर्रा लागेका हुन् । आर्थिक अभावका कारण शल्यक्रिया गर्न नसक्दा दुई दशकदेखि उनी शरीरमा बमका छर्रा बोकेर हिंडिरहेका हुन् ।
२०६१ चैत २५ गते रुकुमको खारामा भएको भिडन्त, त्यसभन्दा अघि बाँकेको कुसुम र म्याग्दीमा भएको भिडन्तमा पर्दा उनको टाउको, खुट्टा, हात लगायत शरीरका विभिन्न भागमा ५४ वटा बमका छर्रा लागेका थिए । ‘श्रीमतीका गहना बेचेर, ऋण गरेर शल्यक्रिया गरी २२ वटा छर्रा निकाल्न सफल भएँ,’ उनले भने, ‘अहिले पनि टाउकोमा २, घाँटीमा १, छातीमा १ र हातखुट्टामा २८ गरी ३२ वटा छर्रा शरीरमा रहेका छन् ।’
माओवादी पार्टीमा कार्यरत हुँदा कम्पनी कमान्डर समेत भएका खत्रीले सुरुमा घाइते भएका बेला सामान्य उपचार गरी लडाइँमै खटाएको बताए । ‘देशमा शान्ति स्थापनापश्चात् बेवास्ता गरे । घरको आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न सकिनँ,’ उनले भने, ‘पछिल्लो पटक बिरामी भएपछि सुर्खेत गएर स्वास्थ्य जाँच गराएँ । जाँच गराउँदा क्यान्सर रोगको लक्षण देखियो । डाक्टरले चितवन जान सल्लाह त दिएका छन् तर आर्थिक अभावकै कारण अहिलेसम्म जान सकेको छैन ।’ सरकारले जनयुद्धका गम्भीर घाइतेलाई जीवन निर्वाह भत्ता दिने गरे पनि त्यो पर्याप्त नभएकाले घर खर्च चलाउन पनि गाह्रो भएको उनले बताए ।
कृष्णबहादुर खत्री
२०५५ मा नेपाल प्रहरीमा छनोट भएका बेला अन्तर्वार्तामा नराम्रा शब्द प्रयोग गरेका कारण उनी निकालिएका थिए । २०५७ मा २५ वर्षको उमेरमा देशमा परिवर्तन ल्याउन भन्दै तत्कालीन माओवादी विद्रोहमा होमिएका थिए । ‘अहिले नेताको चरित्र देख्दा व्यर्थ लडिएछ जस्तो लाग्छ । ज्यानको बाजी लगाएर लडाइँ लड्ने हामीलाई दुई छाक टार्न धौधौ हुने गरेको छ,’ उनले भने, ‘त्यस बेला विभिन्न आशा देखाउने र अहिले अर्बपति भएका नेताले चिन्नै छाडेका छन् ।’
२०६१ चैत २५ गते रुकुमको खारामा नेपाली सेना र माओवादीबीच भिडन्तका क्रममा पाँच छर्रा लागेका दार्मा गाउँपालिकाको भल्चौरका ५० वर्षीय मनबहादुर विकले पनि अहिलेसम्म फाल्न नसकेको बताए । आर्थिक अभाव भएपछि पार्टीमा बारम्बार आग्रह गर्दै आए पनि अहिलेसम्म कसैले वास्ता नगरेको उनले जानकारी गराए । तत्कालीन जनयुद्धको समयमा २०५२ सालमा कलिलो उमेरमा माओवादीमा लागेर जनमुक्ति सेनाका कम्पनी कमान्डरसम्म भएका उनले अब त पार्टी तथा सरकारले सहयोग गर्ने आश नै छाडेको गुनासो गरे ।
०५९ जेठ २९ गते छत्रेश्वरी गाउँपालिका–१ दमाचौरको गुराँसेमा नेपाली सेना र माओवादीबीच भिडन्त हुँदा बमको छर्रा टाउकोमा लागेकी स्थानीय ४६ वर्षीया नन्दकली कवरको पनि त्यस्तै स्थिति छ । टाउकोमा लागेका तीन छर्रामध्ये दुईवटा चिकित्सकले निकालेर फाले पनि आर्थिक अभावका कारण अहिलेसम्म उपचार गर्न नसकेको उनले जानकारी गराइन् ।
