कर्णालीमा शान्तिसुरक्षाको सन्दर्भमा धेरै चुनौती देखिएको छैन : गृहमन्त्री लेखक

मंसिर २५, २०८१

तृप्ति शाही

In Karnali, there are not many challenges in terms of peace and security: Home Minister, writer

वीरेन्द्रनगर — गृहमन्त्री रमेश लेखकले कर्णालीको शान्ति सुरक्षाको सन्दर्भमा धेरै चुनौती नदेखिएको बताएका छन् । कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापन पछि मंगलबार पत्रकार सम्मेलनमा बोल्दै उनले कर्णालीमा अपराधका गतिविधि भने निरन्तर भइरहेको बताए ।

कर्णालीमा परम्परागत अपराधहरू भएको देखिएको उनले बताए । उनका अनुसार कर्णालीमा आत्महत्या, लागूऔषध र सवारी दुर्घटना बढेको देखिएको बताए । कर्णालीको लागि यी तीनवटा कुरा चुनौती रहेकोले यसलाई नियन्त्रण गर्न सुरक्षा गोष्ठीमा छलफल भएको उनले बताए । चुनौतीलाई हेरेर काम गर्नका लागि प्रदेशका सबै सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिइएको उनले बताए । 

कर्णाली प्रदेशभरि शान्ति सुरक्षाको अवस्था के छ? अपराधका गतिविधिहरू के कस्ता भइरहेका छन् ? त्यसबारेमा विश्लेषण, विवेचना र समीक्षा गर्ने उद्देश्यले सुरक्षा गोष्ठीको आयोजना गरिएको उनले बताए । योसँगै आगामी दिनमा शान्तिसुरक्षा, विधिको शासन  र अपराध नियन्त्रण गर्नका लागि के कस्ता उपाय र कदमहरू चाल्ने भन्नेबारे छलफल भएको पनि उनले बताए ।

सुरक्षा गोष्ठीमा गृहमन्त्री, गृहसचिव, कर्णाली प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव, तीनवटै सुरक्षा निकायका प्रमुखसँगै कर्णाली प्रदेश र प्रदेशका १० वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागितामा थियो । गोष्ठीमा कर्णालीको शान्ति सुरक्षाको विषयमा गहन छलफल गरिएको गृहमन्त्री लेखकले बताए ।

रवि लामिछानेको मानव अधिकार हननबारे पत्रकारहरूले राखेको जिज्ञासामा गृहमन्त्री लेखकले कसैको मानव अधिकार हनन नभएको बताए । अरूले दुःख गरेर जम्मा गरेको पैसा अपचलनको आरोपमा रवि लामिछानेमाथि अनुसन्धान भइरहेको र विस्तृत अनुसन्धान गर्न आवश्यक भएको उनको भनाइ थियो । 

लुम्बिनीमा भएका कर्णालीका सुरक्षा निकायका कार्यालयलाई कर्णालीमा ल्याउनको लागि काम गर्ने प्रतिबद्वता पनि उनले जनाए ।

तृप्ति शाही शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully