शोधपत्र लेख्ने विद्यार्थीलाई पालिकाले २५ हजार सहयोग गर्ने

मंसिर २२, २०८१

विप्लव महर्जन

The municipality will support 25,000 to students who write dissertations

सल्यान — जिल्लाको छत्रेश्वरी गाउँपालिकाले आफ्नो पालिकाभित्रका स्नातकोत्तर तहमा शोधपत्र लेख्ने विद्यार्थीलाई २५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । पालिकाभित्रका विद्यार्थीको उच्च शिक्षालाई प्रोत्साहन गर्न यस्तो सहयोग गर्न लागिएको पालिकाले जनाएको छ ।

शोधपत्र सहयोगमार्फत स्थानीय अनुसन्धान र ज्ञानको विकासलाई अगाडि बढाउने उद्देश्य अनुरूप कार्यपालिका बैठकबाट २५ हजार सहयोग गरिने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता फौदबहादुर बस्नेतले बताए । शोधपत्र लेख्दा पालिकाभित्रकै विषयलाई उठान गरिनुपर्ने उनले जानकारी गराए । 

‘पालिकाभित्रका विद्यार्थीले स्नातकोत्तर गर्दा पालिकासँग सम्बन्धित विषयमा शोधपत्र लेख्नका लागि प्रक्रिया अनुसार आवेदन दिनु पर्ने छ,’ उनले भने, ‘आवेदन दिएमा २५ हजार रुपैयाँ सहयोग उपलब्ध गराइनेछ । यो सहयोग पालिकाभित्र स्थायी बासिन्दा रहेका विद्यार्थीले मात्र पाउनेछन् ।’ 

निम्न आय भएकालाई शिक्षाप्रति थप हौसला बढोस् र आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनमा अवरोध नआओस् भनेर नै पालिकाले स्नातकोत्तरका विद्यार्थीलाई शोधपत्र लेख्न सहयोग गर्ने निर्णय गरेको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीले बताए ।

‘हाम्रो समुदायको विकासमा युवा पुस्ताको महत्त्वपूर्ण भूमिका हुन्छ । उनीहरूको सीप र ज्ञानलाई यहाँको आवश्यकता अनुरूप उपयोग गर्न यस कार्यक्रमले ठूलो भूमिका खेल्ने छ,’ उनले भने ‘विद्यार्थीले गर्ने अनुसन्धानले पालिकाको नीति निर्माण, विकास योजना र अन्य स्थानीय समस्याहरूको समाधानमा टेवा पुग्ने विश्वास छ ।’ 

छत्रेश्वरी गाउँपालिकाले गरेको निर्णयले आफूहरूलाई हौसला मिलेको छत्रेश्वरी गाउँपालिका–३ का युवा प्रवेश दाहालले बताए । पालिकाले छुट्याएको बजेट कम भए पनि यसले थोरै भए पनि राहत पुग्ने उनले सुनाए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully