वीरेन्द्रनगर — कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा महायज्ञ सुरु भएको छ । सडक आश्रित मानवका लागि भवन बनाउन शुक्रबारदेखि महायज्ञ सुरु गरिएको हो ।
सुर्खेतमा मानवसेवा आश्रमको भवन निर्माणका लागि महायज्ञ सञ्चालन गरिएको आयोजकले जनाएको छ । महायज्ञ मंसिर २८ गतेसम्म चल्नेछ ।
बेसहारा, असहाय, अभिभावकविहीन सहयोगापेक्षी सडक आश्रित मानवका लागि भवन निर्माणमा आर्थिक स्रोत जुटाउन महायज्ञ सञ्चालन गर्न लागिएको हो । मानसेवा आश्रमको कर्णाली प्रदेशस्तरीय भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउने तथा मानवता प्रवर्द्धनमा टेवा पुर्याउने अभीष्टले श्रीमद्भागवत् सप्ताह ज्ञान–विज्ञान महायज्ञ–२०८१ आयोजना गर्न लागिएको महायज्ञ सञ्चालक मूल समारोह समितिका संयोजक डा. नवराज केसीले बताए ।
कर्णाली प्रदेश सरकारले मानवसेवा आश्रमको भवन निर्माणका लागि १ करोड बजेट विनियोजन गरिसकेको छ ।
महायज्ञबाट संकलित रकमबाट वीरेन्द्रनगर नगरपालिका–११ स्थित देउती बज्यै धार्मिक सामुदायिक वनले उपलब्ध गराएको जग्गामा गुरुयोजनाअनुसार भवन निर्माण प्रारम्भ गरिनेछ । सहयोगापेक्षी सडक आश्रित मानवमुक्त कर्णाली प्रदेश निर्माण गर्ने अभीष्टसहित १८ माघ २०७५ मा मानवसेवा आश्रमले सुर्खेतमा मानवीय सेवा शुभारम्भ गरेको थियो ।
वीरेन्द्रनगर नगरपालिका–१२ मा घर भाडामा लिएर सेवा शुभारम्भ गरेको आश्रमले कर्णाली प्रदेशका १० वटै जिल्लाबाट हालसम्म ४ सय १५ जनाभन्दा बढी बेसहारा, असहाय, अभिभावकविहीन सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गरी सेवा प्रदान गरिसकेको छ । मानवसेवा आश्रम सुर्खेत सेवाकेन्द्रमा हाल विभिन्न उमेर समूहका र विभिन्न प्रकृतिका ८० जना सहयोगापेक्षी सडक आश्रित मानव संरक्षणमा रहेका छन् ।
