सल्यानमा जिप दुर्घटना, चारजना घाइते

मंसिर २२, २०८१

विप्लव महर्जन

Jeep accident in Salyan, four injured

सल्यान — सल्यानमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाको बामेबाट सल्लीबजार आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०६५१ नम्बरको बोलेरो जिप बन्गाड कुपिण्डे-१ नाथेखोला जामुने सडक खण्डको कालिका मन्दिर नजिक शनिबार दिउँसो १२ बजेतिर दुर्घटना हुँदा चार जना घाइते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घाइते हुनेमा बन्गाड कुपिण्डे-३ का कृष्ण बुढाथोकी, पार्वती राना, नैनी बिक, बालिका कमला बिक र रुकुम पश्चिमको चौरजहारी नगरपालिका-७ बस्ने ३७ वर्षीया हिरा बस्नेत रहेका छन् । 

घाइते सबैलाई सल्लीबजारस्थित सिटी अस्पतालमा सामान्य उपचारपछि नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए । ओरालो सडकमा ब्रेक फेल भई गाडी दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ । जिप सडकदेखि करिब २५ मिटर तल खसेको उनले जानकारी गराए । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully