वीरेन्द्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास साझेदार संस्थाहरूलाई सहयोगका प्राथमिकता निर्धारण गर्दा नागरिकमैत्री बनाउन सुझाव दिएका छन् ।
सयुंक्त राष्ट्रसंघ विकास कार्यक्रमको नेपालस्थित राष्ट्रिय आवासीय प्रतिनिधि क्योको योकोसुदासँग बुधबार भएको भेटमा उनले दातृ निकायहरूबाट ठूलो मात्रामा सहयोग भइरहेको तर त्यस्तो सहयोगले अपेक्षित परिणाम हासिल नभएको भन्दै सहयोगका प्राथमिकतालाई नागरिकमैत्री बनाउन सुझाव दिएका हुन् ।
‘कर्णालीमा तपाईंहरूले ठूलो मात्रामा सहयोग गर्नुभएको छ, हामीलाई त्यस्तो सहयोगको निरन्तर आवश्यकता पनि पर्दछ,’ उनले भने, ‘हाम्रो चासो तपाईंहरूले गरेको सहयोगलाई नागरिकले बढीभन्दा बढी अपनत्व गरुन् भन्नेमा हुन्छ ।’
कतिपय विकास साझेदार संस्थाले तल्लो तहको आधारभूत आवश्यकताभन्दा केन्द्रमा बसेर कार्यक्रमहरू तोक्ने गरेको जनस्तरबाट गुनासाहरू आएको बताउँदै मुख्यमन्त्री कँडेलले आवासीय प्रतिनिधि योकोसुदालाई जनप्रतिनिधि निकायसँग समन्वय गरेर कार्यक्रमका प्राथमिकता तोक्नुपर्ने आवश्यकता रहेको बताए । 
मुख्यमन्त्री कँडेलले अशिक्षा र चेतनाको अभावका कारण विगतमा अधिकारमुखी कार्यक्रमहरूमा विकास साझेदार संस्थाहरूको प्राथमिकता भए पनि अब पूर्वाधार विकासमा सहयोग बढाउन आग्रह गरे । विकास सूचकांकमा कर्णालीका धेरैजसो क्षेत्र नकारात्मक रहेको चर्चा गर्दै उनले धेरै कार्यक्रमभन्दा बरु थोरै क्षेत्रमा हात हाल्ने तर परिणाम निस्कने गरी काम गर्नुपर्ने बताए ।
‘विकास साझेदार संस्थाका कार्यक्रमहरू जताततै देखिन्छन् तर अपवादबाहेक जनताले प्रशंसा गरेको कतै सुनिंदैन,’ उनले भने, ‘तीन तहको सरकारको संरचना भए पनि दातृ संस्थाहरूले कार्यक्रम छनोट गर्दा संघीय सरकारसँग मात्र समन्वय गर्दा कार्यक्रमहरूमा दोहोरोपना देखिएको छ । अब यस्तो नहोस् भन्ने हो ।’
मुख्यमन्त्री कँडेलले प्रदेश सरकार दातृ संस्थाहरूलाई काम गर्ने उपयुक्त वातावरण बनाउन सदैव तयार रहेको पनि बताए । साझेदार संस्थाहरूले पनि कार्यक्रम छनोटअघि समन्वय गर्नुपर्नेमा उनले जोड दिए ।
छलफलमा आवासीय प्रतिनिधि योकोसुदाले आफू पहिलो पटक कर्णालीको भ्रमणमा आएको र यहाँ उठेका विषयहरूबारे छलफलको माध्यमबाट समाधान गर्ने बताइन् ।
