उपकुलपतिको सह–प्राध्यापकमा नियुक्तिउपर छानबिन गर्न माग

मंसिर १९, २०८१

डीबी बुढा

Demand to investigate the appointment of Vice-Chancellor as Associate Professor

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आन्दोलनरत शिक्षक र कर्मचारीहरूले उपकुलपति डा. मंगल रावलको सहप्राध्यापक पदको नियुक्तिउपर आवश्यक छानबिन गर्न माग गरेका छन् ।

आन्दोलरत शिक्षक र कर्मचारीहरूसँग वार्ता गर्न गठित वार्ता समितिसँगको बैठकमा शिक्षक तथा कर्मचारीहरूले उपकुलपतिको सह–प्राध्यापकको नियुक्तिमा प्रतिष्ठानको नियमावली किर्ते भएको समेत आरोप लगाएका थिए । 

उनीहरूले नियमावलीमा उल्लेख गरिएको प्राविधिक प्राज्ञिक शिक्षकतर्फ बढुवाको न्यूनतम योग्यतामा सह–प्राध्यापक पदका लागि सहायक प्रध्यापक पदमा कम्तीमा ४ वर्ष काम गरेको हुनुपर्ने वाक्य हटाइएको बताएका थिए । त्यो वाक्यमा लेक्चररपश्चात् पाँच वर्षको कार्य अनुभव भइ सहायक प्राध्यापक पदमा कम्तीमा दुई वर्ष काम गरेर भन्ने वाक्य राखिएको छ । 

नियमावलीका सबै बुँदा हुबहु हुनु तर सह–प्राध्यापक हुनका लागि चाहिने योग्यताको पहिलो बुँदा हटाउनु किर्ते भएको उनीहरूको आरोप छ । 

उपकुलपति डा. रावलको सह–प्राध्यापक पदको नियुक्ति अवैध भएकाले उचित छानबिन गरेर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गर्न उनीहरूले माग गरेका थिए । 

वार्तामा प्रतिष्ठानले विगतमा लोकसेवाको सिद्धान्तपश्चात् बढुवा र थप जिम्मेवारी पटक–पटक दिइएको बारे ध्यानाकर्षण गरेका थिए । २०७४ पछि जुन विधि र प्रक्रिया गरी कर्मचारीहरूको स्तर वृद्धि गरिएका शिक्षक र कर्मचारीहरूको बढुवा दिएकामा सोही अनुसार बढुवा गर्न माग गरेका थिए । 

उच्च अदालत सुर्खेत जुम्ला इजलासबाट आदेश भएका ५८ जना शिक्षक र कर्मचारीको स्तर वृद्धि गर्ने निर्णयमा उपकुलपति डा. रावल सहमत भए आन्दोलनका कार्यक्रम बन्द गर्न दुवै पक्षबीच सहमति भएको निर्णय गरिएको छ । 

प्रतिष्ठानले आन्दोलनरत शिक्षक कर्मचारीसँग वार्ता गर्न शिक्षाध्यक्ष डा. डबलबहादुर धामीको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । जसमा प्रतिष्ठानका डीन डा. प्रेणित पोखरेल र सहायक प्राध्यापक विवेक पुनमगर सदस्य छन् । यता आन्दोलनरत शिक्षक र कर्मचारीका तर्फबाट लेखा अधिकृत इन्द्रराज डाँगीले नेतृत्व गरेका छन् ।

शिक्षाध्यक्ष डा. डबलबहादुर धामीले वार्तामा पहिलो चरणमा कर्मचारीका समस्याहरू सुनेको बताए । वार्ताका क्रममा भएको निर्णयमा आफूहरूको सहमति नभएको भन्दै उठेको पनि उनको भनाइ छ । 'कर्मचारीहरूलाई ३ बजेको समय दिएका थियौं । उनीहरू वार्तामा बस्न १० जना आएका थिए,' उनले भने, 'उनीहरूका समस्या सुनेपछि निर्णयमा आपत्ति जनाएर हामी बैठकबाट बाहिरिएका हाैं ।'

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully