एक वर्षपछि प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स संचालनमा

मंसिर १८, २०८१

विप्लव महर्जन

After one year in primary health center ambulance operation

सल्यान — जिल्लाको छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा बिग्रिएर र चालक नपाएर थन्किएको एम्बुलेन्स एक वर्षपछि संचालनमा आएको छ । पालिकाले चालक भर्नाका साथै एम्बुलेन्स मर्मत गरेपछि संचालनमा आएको हो ।

एम्बुलेन्स संचालनमा आएपछि रातबिरातमा कोही बिरामी भएर जिल्ला अस्पताल लग्नु परेमा बोकेर झन्डै एक घन्टा हिँड्नु पर्ने बाध्यताको अन्त्य भएको र समयमै अस्पताल पुर्‍याउन पाउँदा राहत मिलेको लेखपोखराका धनबहादुर रोकाले बताए । ‘एम्बुलेन्स बिग्रिएर र चालक नपाएर थन्किँदा धेरै गाह्रो थियो,’ उनले भने, ‘तत्काल अस्पताल लग्नु पर्ने भएमा लान्ती तथा श्रीनगरबाट एम्बुलेन्स मगाउँदा आधा घन्टाभन्दा बढी समय कुर्नु पर्थ्यो ।’

एम्बुलेन्स संचालनमा आएपछि सबैभन्दा बढी गर्भवती महिला लाभान्वित भएको स्थानीय महिला पवित्रा घर्तीले बताइन् । ‘प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी हुन नसकेका गर्भवती महिलालाई जिल्ला अस्पताल लग्नुपर्ने बाध्यता हुन्थ्यो,’ उनले भनिन्, ‘भन्नेबित्तिकै गाडी नपाउँदा समस्या हुन्थ्यो । स्टेचरमा बोकेर लग्दा समयमै अस्पताल पुर्‍याउन नसक्दा बाटैमा सुत्केरी हुने, आमा तथा बच्चाको ज्यान जोखिममा पर्ने समस्या हुन्थ्यो । एम्बुलेन्स संचालनमा आएपछि त्यसबाट मुक्ति मिलेको छ ।’ 

वडाले गर्भवती र ज्येष्ठ नागरिकलाई एम्बुलेन्समा सवार हुँदा न्यून शुल्क मात्र लिने व्यवस्था गरेपछि आर्थिक अवस्था कमजोर भएकालाई पनि धेरै राहत मिलेको उनले बताइन् । एम्बलुेन्स संचालनमा आएपछि उपचारका लागि आएका बिरामीलाई रिफर गर्नुपर्दा फोन गरेर श्रीनगरमा रहेका एम्बुलेन्स तथा निजी गाडी मगाइदिनु पर्ने बाध्यता टरेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.राजन अधिकारीले बताए ।

एम्बुलेन्स संचालनमा ल्याएपछि एक वर्षसम्म विभिन्न किसिमका कष्ट उठाउँदै आएका वडाबासीलाई धेरै राहत भएको प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष तथा वडाध्यक्ष फौदबहादुर बस्नेतले बताए । उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रसँग बजेट नभएका कारण एम्बुलेन्स मर्मत र चालक खर्चसमेत पालिकाले ब्यहोरेको थियो । स्थानीयलाई स्वास्थ्योपचारमा सहज होस् भनी पालिकाले २०७५ सालमा एम्बुलेन्स किनेर प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको थियो ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully