मर्मतका लागि राप्ती राजमार्ग आजदेखि दैनिक ५ घन्टा बन्द 

मंसिर १७, २०८१

विप्लव महर्जन

Rapti highway closed for 5 hours daily from today for maintenance

सल्यान — सडक मर्मत एवं निर्माणको लागि राप्ती राजमार्ग सोमबारदेखि दैनिक पाँच घन्टा बन्द गरिएको छ । नियमित गाडी सञ्चालनमा आउँदा दाङ–सल्यान सडक खण्डको कपुरकोटदेखि राम्रीसम्म स्तरवृद्धिको काम प्रभावित हुन थालेपछि जिल्ला प्रशासन कार्यालय दाङले सूचना प्रकाशन गरेर सोमबारदेखि पाँच घन्टा बन्द गरेको हो । 

राप्ती राजमार्ग बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गरिएपछि ठूला गाडीमा सवार गर्ने यात्रुहरु प्रभावित भएका छन् । वैकल्पिक मार्ग नभएपछि यात्रु दिनभरि उक्त सडकमा रोकिएका छन । सडक बन्द हुँदा दाङ, सल्यान, रुकुम र रोल्पाबासी प्रभावित भएका छन् । 

सडक डिभिजन कार्यालय घोराही दाङकै रोहबरमा सूचना प्रकाशन गरिएको जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बताइन् ।

राप्ती राजमार्गको राम्री कपुरकोट सडक खण्डमा गाडी आउजाउ बन्द गरिएपनि बिरामी बोकेका एम्बुलेन्स लगायत चारपांग्रे साना गाडीहरु भने कपुरकोट–किमुचौर–सातलवास– पैयाखोला हुँदै आउजाउ गर्न उनले आग्रह गरेकी छन् । 

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully