भीरबाट लडेर घाइते युवाको उपचारका क्रममा मृत्यु

मंसिर १७, २०८१

तुलाराम पाण्डे

A young man injured after falling from Bhir died during treatment

कालीकोट — सदरमुकाम मान्म बजारबाट घर जाने क्रममा हीरेचौरमाथिको भीरबाट खसेर घाइते भएका खाँडाचक्र–४ का २४ वर्षीय गणेश परियारको उपचारका क्रममा मृत्यु भएको छ ।

मान्म बजारबाट राती अबेर घर फर्किने क्रममा बाटोमा चिप्लिएर लडेका परियारको उपचारको क्रममा सोमबार सुर्खेतमा मृत्यु भएको हो । 

मंसिर ९ गते बेलुकी लडेर घाइते भएका परियारको उपचारका लागि कालीकोट, सुर्खेत, नेपालगन्ज हुँदै फेरि कालीकोटबाट सुर्खेत पुर्याएपछि मृत्यु भएको आफन्त दीपक विश्वकर्माले बताए । उनका अनुसार मंसिर १० गते सुर्खेत रिफर भएका परियारलाई ११ गते नेपालगन्ज लगियो । त्यहाँ टाउकोमा गम्भीर चोट भएकाले शल्यक्रिया गर्न २० हजार रुपैयाँ लाग्ने बताइएपछि पैसा नभएर मंसिर १३ गते बिरामीलाई कालीकोट ल्याइयो । कालीकोटमा केही रकम सहयोग जुटाएर पुनः सुर्खेत ल्याएपछि सोमबार मृत्यु भएको हो । 

गणेशका बुबा मानवहादुर दर्जीको पनि उपचार अभावमा ७ वर्षअघि मृत्यु भएको स्थानीय समाजसेवी दानबहादुर विश्वकर्माले बताए । ‘उपचारका लागि सामाजिक संजालमार्फत सहयोग जुटाउने पहल हुँदै थियो,’ उनले भने । घरको अवस्था कमजोर भएको र समयमा उपचार नपाउँदा मृत्यु भएको अधिकारकर्मी बाले विश्वकर्माले बताए ।‍

तुलाराम पाण्डे पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully