भूकम्पले क्षति पुगेको भवन र टेन्टबाट स्वास्थ्य सेवा

दार्मा गाउँपालिकाका ८ स्वास्थ्य संस्थामा क्षति पुगे पनि मर्मत तथा पुनर्निर्माणमा बेवास्ता

मंसिर १६, २०८१

विप्लव महर्जन

Health services from earthquake damaged buildings and tents

सल्यान — सल्यानको दार्मा गाउँपालिका स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले एक वर्षदेखि भूकम्पले क्षति पुगेको भवन र टेन्टबाट स्वास्थ्य सेवा दिँदै आएका छन् । जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गत वर्ष कात्तिक १७ मा शुक्रबार राति गएको भूकम्पले स्वास्थ्यचौकीमा क्षति पुगेको थियो । तर मर्मत तथा पुनर्निर्माणमा सम्बन्धित निकायले बेवास्ता गर्दा स्वास्थ्यकर्मी जोखिम मोलेर सेवा दिन बाध्य भएका हुन् । 

भवन असुरक्षित रहेको र त्यहाँबाट सेवा दिन नमिल्ने भन्दै आए पनि सम्बन्धित निकायले अहिलेसम्म मर्मत तथा पुनर्निर्माणमा चासो नदिएको ढाकाडाम स्वास्थ्यचौकीका इन्चार्ज दिपक चन्दले जानकारी गराए । ‘भूकम्पले दुईतले भवन क्षति भयो । दुई महिना जति खुला चौरबाट सेवा दियौँ । खुला चौरमा पनि चिसो र वर्षात्को समस्या भयो । पालिकाले व्यवस्था गर्ने भनेपछि चर्किएको भवन प्रयोग गर्दै आएका छौं,’ उनले भने ।

भवन बाहिर तथा भित्रबाट चिरा परेको चन्दले बताए । ‘पालिकाले पनि भवनको व्यवस्था गर्न सकेको छैन । आएका बिरामीलाई त्यत्तिकै पठाउन नमिल्ने भएकाले डराइडराई सेवा दिनुपरेको छ’ । भवन पुनर्निर्माणका लागि सम्बन्धित निकायमा माग पत्र पेस गरे पनि सुनुवाइ नभएको उनको भनाइ छ ।

भल्चौर स्वास्थ्यचौकीका इन्चार्ज तथा स्वास्थ्यकर्मी यज्ञबहादुर बुढाथोकीले अनुगमनका क्रममा चर्किएको भवनमा नबस्न सुझाव पाए पनि विकल्प नभएको बताए । ‘पहिला पहिला त क्षति पुगेको भवनमा छिर्नै डर लाग्थ्यो । यसमै पुरिएर मरिने त हैन भन्ने लाग्थ्यो । अहिले अलि बानी परेको छ,’ उनले भने ।

भूकम्पले भवन बस्नलायक नभएपछि सामुदायिक स्वास्थ्य इकाइ केन्द्र ढाकाडामले एक वर्षदेखि टेन्टबाट सेवा दिँदै आएको छ । साँघुरो टेन्टमा औषधि, बिरामीको परिक्षण, अन्य सामग्री राख्नुपरेको केन्द्रका स्वास्थ्यकर्मी यज्ञबहादुर खड्काले बताए । गत वैशाख र जेठमा आएको हुरीले टेन्ट प्वाल परेको छ । वर्षात्को समयमा पानीले हिलाम्मे हुँदा सेवा दिन कठिनाइ भएको थियो । ‘टेन्टभित्र ३/४ जनाभन्दा बढी बस्न मिल्दैन । भिरालो जग्गामा टेन्ट छ, जेजस्तो भए पनि बाध्य भएर सेवा दिनुपरेको छ,’ खड्काले भने ।

भूकम्पले दार्मा गाउँपालिकामा ८ स्वास्थ्य संस्थामा क्षति पुगेको छ । सबैभन्दा बढी वडा नं १ दार्माकोट, वडा नं ५ ढाकाडाम, भल्चौरको स्वास्थ्य संस्थामा क्षति भएको छ । पर्याप्त बजेट नआएकै कारण मर्मत तथा भवन पुनर्निर्माण गर्न नसकिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए ।

दार्माकोटमा भर्खर नयाँ भवन बनेकाले सेवा दिन समस्या नभए पनि ढाकाडाम र भल्चौर स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई सेवा दिन भने कठिनाइ भएको उनको भनाइ छ । यो वर्ष दार्माकोट स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य इकाइ केन्द्र ढाकाडाममा भवन बनाउन २ करोड बजेट आएको उनले जानकारी दिए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully