वीरेन्द्रनगर — हुम्लाको सर्केगाड गाउँपालिकामा ६६.४१ प्रतिशत मत खसेको छ । पालिकाको उपाध्यक्ष पदका लागि आइतबार मतदान भएको थियो । ६ हजार ८ सय १० मतदाता रहेको पालिकामा ४ हजार ५ सय २४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२ हजार ३ सय २९ पुरुष, २ हजार १ सय ९५ महिलाले मतदान गरेका मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले जानकारी दिए । उनका अनुसार सर्केगाडमा १२ वटा मतदान स्थल र १३ वटा मतदान केन्द्रबाट मतदान भएको छ ।
शान्तिपूर्ण र मर्यादित रुपमा मतदान भएको उनले बताए । मतपेटिका छिटो पुगेको खण्डमा राति ९ बजेबाटै मतगणना गर्ने तयारी भएको बरालले बताए ।
गाउँपालिकाको उपाध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट सविता बुढा, नेकपा एमालेबाट जाना शाही, नेकपा माओवादी, एकीकृत समाजवादी र नेकपाबाट साझा उम्मेदार देवकी तिमिल्सेना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संगीता शाही र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाँचा बुढा चुनावी मैदानमा होमिएका छन् ।
