कालीकोट — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गुणस्तरीय स्वास्थ्य सेवा दिन सके जनविश्वास आर्जन गर्न सकिने बताएका छन् ।
गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा नहुँदा नागरिकमा निराशा बढेको बताउँदै उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गरेर गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने बताए ।
उनले कालीकोट जिल्ला अस्पताल रेफर अस्पतालकोरुपमा नभइ भरपर्दो सेवा दिने अस्पतालकोरुपमा विकास हुनुपर्नेमा सुझाए । 'भवन, दरबन्दी र उपकरणले मात्र गुणस्तरीय स्वास्थ्य सेवा हुँदैन,' सोमबार कालीकोट जिल्ला अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले भने, 'स्वास्थ्यकर्मीको सकारात्मक परामर्श, गुणस्तरीय, भरपर्दो र विश्वसनीय सेवाले जनविश्वास आर्जन गर्न सकिन्छ ।'
उनले अस्पतालमा भएको जनशक्ति र स्रोत, साधनबाट सकेको सेवा दिन स्वास्थ्यकर्मी प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । सडक दुर्घटना हुने जिल्लाको सूचीमा कालीकोट मुख्य भएकाले यहाँको जिल्ला अस्पताललाई स्रोत साधन सम्पन्न बनाउन प्रदेश सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री कँडेलले तालिम, गोष्ठीमा गएका स्वास्थ्यकर्मी महिनौँसम्म उतै हराउने र जनताले सेवा नपाउने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए ।
०४५ मा स्वास्थ्य केन्द्रकोरुपमा स्थापना भएको कालीकोट अस्पतालले ०६१ मा १५ शैयाको स्वीकृति पाएको थियो भने ०७१ मा ५० शैयाको मान्यता पाएको छ । तर, अस्पताललाई दरबन्दी र बजेट ३० शैयाको लागि मात्र सेवा सुविधा आउने भएकाले अस्पताल संचालनमा बजेट अभाव हुने गरेको अस्पतालले जनाएको छ ।
