सल्यानका भूकम्पपीडितले पाएनन् अस्थायी टहरा बनाउने राहत

कार्तिक १७, २०८१

विप्लव महर्जन

The earthquake victims of Salyan did not get the relief of building a temporary shelter

सल्यान — जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प आजैका दिन ठिक एक बर्ष पूरा भएको छ । भूकम्पले क्षति पुगेको एक वर्ष बितिसक्दा पनि सल्यानका भूकम्प पीडितले अहिलेसम्म अस्थायी टहरो बनाउने राहत पाउन सकेका छैनन् ।

सम्बन्धित पालिकाले क्षतिको विवरणसहित सम्बन्धित निकायमा कागजपत्र पेस गरे पनि भूकम्पपीडितले अहिलेसम्म अस्थायी टहरो निर्माणका लागि राहत पाउन सकेका छैनन् । 

गत वर्ष कात्तिक १७ गते राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण जाजरकोट, रुकुममा मात्र नभई सल्यानको दार्मा, कुमाख गाउँपालिका, बाग्चौर नगरपालिका र त्रिवेणी गाउँपालिकामा गरी ४ हजार ६ सय बढी घर क्षति भएका थिए । ४ हजार ८० घरमा क्षति भएको दार्मा गाउँपालिकामध्ये अहिलेसम्म १ हजार ६ सय ८०, कुमाखका १ सय ६७ मध्ये १ सय २९ र बाग्चौर नगरपालिकाका ३ सय ८० मध्ये १ सय ५४ ले मात्र पहिलो किस्ताबापतको २५ हजार रकम पाएका छन् । अन्यले पहिलो र दोस्रो दुवै किस्ता पाउन सकेका छैनन् । 

सरकारले अस्थायी टहरा बनाउनका लागि राहत रकम ५० हजार र घर पूर्ण निर्माणको व्यवस्था गर्न नसक्दा पीडितले विभिन्न किसिमका समस्या भोग्दै आएका छन् । राहत तथा पुनःनिर्माणका लागि रकम पाउन नसक्दा जिल्लाका दार्मा, कुमाख गाउँपालिका र बाग्चौर नगरपालिकाका ४ हजार ६ सय भूकम्पपीडितमध्ये एक हजार अहिले पनि टहरामा र बाँकी क्षति पुगेका घर मर्मत गरी बस्न बाध्य भएका छन् । 

भूकम्पले दुई तले घर भत्किएपछि सरकारबाट ५० हजार राहत पाउने आशामा ऋण लिएर अस्थायी टहरो बनाई बस्दै आएकी दार्मा गाउँपालिका–५ कोटकी विमला दमाईले आय आर्जनको माध्यम केही नभएपछि अहिले ऋण तिर्न हम्मेहम्मे परेको बताइन् । सरकारबाट अस्थायी टहरो बनाउनका लागि पाउने ५० हजारको आश लाग्न छाडिसकेको उनले जानकारी गराइन् । अस्थायी टहरोमा बस्नु पर्दा विभिन्न किसिमको स्वास्थ्य समस्या भोग्दै आएको उनको भनाइ छ । 

सरकारबाट राहत रकम पाउने सम्भावना न्यून रहेपछि आफूले राहतको माया मारिसकेको दार्मा–५ उत्तिसेनीका ५५ वर्षीय पदमबहादुर खत्रीले बताए । सरकारले तत्काल राहतका नाममा पीडितको घाउमा मल्हम लगाउने काम मात्र गरेको उनले जानकारी गराए । सरकारबाट अस्थायी टहरा बनाउने राहत रकम पाउन नसकेपछि भूकम्पले क्षति पुगेको घर मर्मत गरेर त्यसमा बस्दै आएको उनको भनाइ छ । 

जाजरकोट र रुकुमको तुलनामा सल्यानका भूकम्प पीडितलाई खासै मतलब नगरेको र लाखौंको घर क्षति हुँदा पनि राहत र घर पुनःनिर्माणका नाममा त्रिपाल मात्र दिएर टारेको लिरापाजाका बहादुर दमाईले बताए । ‘भूकम्पले क्षति पुगेको घर भत्काएर टहरा बनाएपछि मात्र राहत रकम र घर पुनःनिर्माणका लागि बजेट पाउने भनेर धमाधम घर भत्काई अस्थायी टहरो बनाइयो । सरकारबाट पाउने राहत नभएपछि अहिले घरको न घाटको जस्तो भइयो,’ उनले भने, ‘भूकम्पले क्षति पुगेपछि माथिल्लो तला सबै भत्काएर फालेको घरको भुइँतला मर्मत गरेर बस्नु परेको छ ।’ 

दार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर वलीले सबै कागजपत्र तयार पारेर सम्बन्धित निकायमा पेस गरे पनि विभिन्न किसिमका जटिलताका कारण अहिलेसम्म पालिकाका सबै भूकम्प पीडितले अस्थायी टहराका लागि राहत रकम पाउन नसकेको बताए ।

पालिकाका विभिन्न वडाका ४ हजार ८० पीडितमध्ये १ हजार ६ सय ८० जनाले मात्र पहिलो किस्ताबापत २५ हजार पाएका र अन्यले नपाएको उनले जानकारी गराए । सरकारले भूकम्पले क्षति भएका संरचना, घर निर्माण गर्ने भने पनि दार्माका लागि जम्मा ३ करोड विनियोजन गरेको र उक्त रकमले विद्यालय र स्वास्थ्य भवन बनाउने भनेपछि पीडित सर्वसाधारणले पुनःनिर्माणका लागि राहत रकम पाउने सम्भावना कम देखिएको उनको भनाइ छ । 

बाग्चौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर कठायतले पालिकाभरि ३ सय ८० घर क्षति भएकामध्ये १ सय ५७ ले मात्र पहिलो किस्ताबापतको राहत रकम पाएको र अन्य कसैले पनि नपाएको बताए । राहत पाउने सम्भावना नदेखिएपछि धेरैले क्षति पुगेको घर मर्मत गरेर बस्दै आएका उनले जानकारी गराए । 

जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जिल्लाका १ हजार ९ सय १७ भूकम्प पीडितका लागि पहिलो किस्ता बापत ५ करोड ४ लाख २५ हजार निकासा भएर सबैले पाइसकेका र कागजी प्रक्रियामा पालिकाले गरेको ढिलाइले गर्दा सबै भूकम्प पीडितले अस्थायी टहराका लागि रकम पाउन नसकेको बताए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully