सबै दल एक भए मात्र कर्णालीको विकास सम्भव : मुख्यमन्त्री कँडेल

कार्तिक ८, २०८१

विप्लव महर्जन

Development of Karnali is possible only if all parties are united: Chief Minister Kandel

सल्यान — सत्तापक्ष र प्रतिपक्षी सबै दल हातेमालो गर्दै अगाडि बढे मात्रै कर्णालीको विकास सम्भव हुने कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बताएका छन् । दलीय भेटघाट तथा जिल्लाको अवस्था बुझ्न सल्यान आएका मुख्यमन्त्री कँडेलले बिहीबार पत्रकार भेटघाटमा उक्त कुरा बताएका हुन् ।

सबै दल हातेमालो गर्दै अगाडि बढे गन्तव्यमा पुग्न सकिने भएकाले सरकारमा दल परिवर्तन भए पनि सहकर्मी दलले नै बनाएको नीति तथा कार्यक्रम योजना, बजेटलाई निरन्तरता दिएको उनले जानकारी गराए । ‘सबै दल एक भएर हिँडे मात्र प्रदेशको बजेट विनियोजन तथा विकासको काम प्रभावकारी हुनेछ,’ उनले भने । 

विगतमा राजनीतिक खिचातानीले विकास निर्माणलगायत अन्य कामकाज सही रूपमा भएका छैनन् र तिनलाई सुधार्न पनि आवश्यक रहेको उनले बताए । पार्टीगत दम्भ र ठेकेदारले गरेका लापरबाहीकै कारण कर्णाली प्रदेशमा संचालित योजनाहरू पनि समयमै सम्पन्न हुन नसकेको उनको ठम्याइ छ । 

कर्णालीको विकासकै लागि विगतदेखि अहिलेसम्म लगातार स्थानीय सरकार तथा विभिन्न कार्यालयबाट हुने असारे विकासको काम यस वर्षदेखि पूर्ण रूपमा बन्द गरिने मुख्यमन्त्री कँडेलले पत्रकारसामु बताए । 

‘तीन तहका सरकार भए पनि बजेट कार्यान्वयमा भएको ढिलाइले गर्दा स्थानीय सरकार तथा विभिन्न कार्यालयलले असारको महिनामा मात्र विकास निर्माणको काम गर्ने परिपाटी रहेको छ,’ उनले भने, ‘यसले काममा गुणस्तर नहुने र समयको अभावमा काम पूरा हुन नसकी बजेट फिर्ता हुने मात्र नभई विकास निर्माणका कामहरू पनि अलपत्र पर्दै आएका छन् । कतिपय योजना वर्षातको भेलमा बग्ने गर्दा सरकारको लगानी त्यत्तिकै खेर जाने गरेको छ । यस आर्थिक वर्षदेखि त्यस्तो हुन दिँदैनौं ।’ 

समयमै विकास निर्माणको काम गर्नका लागि अहिले सम्बन्धित कार्यालय तथा स्थानीय सरकारलाई धमाधम बजेटको अख्तियारी दिइरहेको उनको भनाइ छ । 

विभिन्न कार्यालयले सेवाग्राहीबाट अतिरिक्त शुल्क लिइरहेको गुनासो बढेकाले अतिरिक्त शुल्क तिर्नुपर्ने परिपाटीको अन्त्य गर्न सम्बन्धित कार्यालयलाई मुख्यमन्त्री कँडेलले निर्देशनसमेत दिए । कसैले तोकेभन्दा बढी शुल्क लिएको पाइएमा तुरुन्तै कारबाही गरिने समेत उनको भनाइ छ । 

गत कात्तिक १७ मा जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट क्षति भएका जाजरकोट, रुकुम, सल्यानका लागि ५० करोड विनियोजन गरेको र सल्यानका लागि ३ करोड विनियोजन भएको र उक्त बजेटबाट तत्काल विद्यालय तथा स्वास्थ्यसंस्था निर्माणको काम हुने जानकारी गराए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully