नागरिकले जनप्रतिनिधिबाट नयाँ किसिमको कार्यसम्पादन खोजेका छन् :  मुख्यमन्त्री कँडेल

कार्तिक ४, २०८१

तृप्ति शाही

Citizens are looking for a new type of performance from their representatives: Chief Minister Kandel

वीरेन्द्रनगर — कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले नागरिकले जनप्रतिनिधिबाट नयाँ किसिमको कार्यसम्पादन खोजिरहेको बताएका छन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले प्रदेश विशेष कार्यक्रम र सार्वजनिक सेवा प्रवाह छलफल कार्यक्रमको जाजरकोट सदरमुकाम खलंगामा शुभारम्भ गर्दै मुख्यमन्त्री कँडेलले परिवर्तित परिस्थितिमा जनताले नयाँ किसिमको कार्यसम्पादन खोजिरहेकोले जिम्मेवारी सम्हाल्ने सबैले जनताको आशयलाई बुझ्न आग्रह गरे ।

'परिस्थिति विगतभन्दा भिन्न छ । जनताले  सेवा प्रवाहलगायतका विषयमा नयाँ-नयाँ अनुभूतिको महसुस खोजिरहेका छन्,' उनले भने, 'तपाईंहरुको काम सम्पादन पनि सोहीअनुरुप बनाउन जरुरी छ । सरकारका जुनसुकै संरचनाको पहिलो काम नागरिकप्रति जवाफदेही र जिम्मेवार बन्नु हो । यसमा मातहतका निकायको ध्यान जान जरूरी छ । जिम्मेवारी बोकेकाहरूलाई नागरिकले प्रश्न गर्नुलाई अन्यथा मान्नुभएन । '

सरकारले योजनाको लागि बजेट विनियोजन गर्ने तर कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्नेमा उनको जोड थियो । मुख्यमन्त्री कँडेलले कात्तिकसम्मका सबै योजनाहरु ठेक्का आह्वानदेखि सम्झौता गरिसक्न निर्देशनसमेत दिएका छन् । निर्णयका लागिमात्रै निर्णय गर्ने परिपाटीको अन्त्य गर्न र प्रदेशसभाले पारित गरेका नीति, कार्यक्रम तथा बजेट प्रभावकारी कार्यान्वयको तहमा लैजानका लागि कर्मचारीको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । योजना कार्यान्वयनमा कुनै विवाद देखिएको अवस्थामा स्थानीय तहसँग समन्वय गर्न आग्रह गरे ।

भूकम्पबाट प्रभावित भएका विद्यालय र स्वास्थ्य चौकी पुनर्निर्माणका लागि प्रदेश सरकारले विनियोजन गरेको ५० करोड रुपैयाँ परिचालनका लागि विद्यालय छनोट जारी रहेको उनले बताए ।

विनियोजन गरिएको रकममध्ये २५ करोड जाजरकोट र ३ करोड रुपैयाँ रुकुम पश्चिमका लागि रहेकाले यसै आर्थिक वर्षमा सम्पन्न गर्नेगरी भूकम्पबाट क्षतिग्रस्त विद्यालय र स्वास्थ्य चौकीको भवन निर्माण गरिने मुख्यमन्त्रीले उल्लेख गरे । मुख्यमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिन वडा तहबाट आएका योजनामा बजेट पठाउने गरी सरकारले काम गरिरहेको बताए । 

संघ तथा प्रदेशबाट अगाडि सारिएका ससर्तका योजनाहरु समयमै अगाडि बढाउन आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले यसमा प्रदेश सरकार विशेष योजनाका साथ लागि परेको बताए । कर्णालीको आन्तरिक आम्दानी न्यून रहेको अवस्थामा कसरी स्रोतको वृद्धि गर्नेतर्फ पनि छलफल गरिने उनले बताए । प्रदेश सरकारले अगाडि बढाएका योजनाहरुमा भुक्तानीका लागि कुनै समस्या नहुने कँडेलको भनाइ छ ।

प्रदेश सरकारको नीति कार्यक्रम, बजेट कार्यान्वयनको अवस्था र चुनौती, भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण, सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्या लगायतका विषयमा स्थानीयस्तरमै गएर  छलफल गर्ने उद्देश्यले मुख्यमन्त्री ४ दिने जिल्ला भ्रमणमा निस्केका छन् । उनी जाजरकोट पछि रुकुम पश्चिम र सल्यान जाने कार्यक्रम छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully