त्रिवेणी र माडी जोड्ने सडक निर्माण सुरु

दुई पालिका जोड्ने घर्तीगाउँ–झिनुवा–जगरबोट सडकको केही भाग कालोपत्र

आश्विन १७, २०८१

काशीराम डाँगी

Construction of road connecting Triveni and Madi started

रोल्पा — पश्चिमी रोल्पाका दुई स्थानीय तह त्रिवेणी र माडी गाउँपालिकालाई जोड्ने महत्वपूर्ण मानिएको घर्तीगाउँ–झिनुवा–जगरबोट सडकको निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ ।

त्रिवेणी–५ को जगरबोटदेखि सिद्धपुर–हान्जाबाङ–झिनुवा हुँदै माडी–१ को झिनुवा हुँदै पेदीखोला–घर्तीगाउँ बजार जोड्ने उक्त सडकको निर्माण थालिएको हो । सडक निर्माणमा दुवै गाउँपालिकाको संयुक्त पहल र लगानीमा थालिएको हो ।

दुई गाउँपालिकाको केन्द्र हुँदै अन्य गाउँलाई समेत जोड्ने उक्त सडकले विकासको आयाम भित्र्याउने विश्वास गरिएको छ । गाउँका उत्पादनशील क्षेत्रलाई सडकले जोडेमा व्यापारिक एवं संभावनायुक्त भूगोललाई विकासको मूल धारमा ल्याउने दुवै गाउँपालिकाको योजना छ ।

अघिल्लो वर्ष दुई पालिकाको संयुक्त बैठक बसेर जनप्रतिनिधिले सडक निर्माणमा सरोकार राख्नेबारे निर्णय गरेका थिए । त्यसवर्षदेखि नै बजेट विनियोजन गर्न सुरु गरिएको हो । पहिलो चरणमा सडक चौडा बनाउने, नाला बनाउने र दोस्रो चरणमा सडक कालोपत्र गर्ने योजना अनुसार काम भइरहेको माडी गाउँपालिकाका सूचना अधिकारी पहलमान वलीले बताए ।

‘माडीको केन्द्र घर्तीगाउँ बजारदेखि सडक निर्माण थालिएको छ । पहिलो चरणमा कालोपत्र गर्न पनि यतैबाट थालिएको हो । अहिलेसम्म १ हजार ३ सय मिटर कालोपत्र गरिएको छ ।’

माडीका सूचना अधिकारी वली भन्छन्, ‘धमाधम काम भएमा आउँदो दुई/तीन वर्षमा सडक कालोपत्र भइसक्नेछ ।’ उनका अनुसार हालसम्म कालोपत्र गर्न मात्रै २ करोड खर्च भइसकेको छ भने चालू आर्थिक वर्षका लागि ३ करोड ६१ लाख रकम विनियोजन गरिएको छ ।

माडी र त्रिवेणी गरी दुईतिरबाट सडक चौडा बनाउने काम भइरहेपनि कालोपत्र गर्न भने माडी क्षेत्रबाट थालिएको हो । सडक चौडा बनाउने काम यो वर्षभित्र झिनुवा गाउँसम्म पुर्‍याउने लक्ष्य रहेको उनले बताए ।

त्रिवेणी गाउँपालिका–५ का वडा अध्यक्ष कृष्णबहादुर केसीका अनुसार नेर्पादेखि जगरबोटसम्म सडक निर्माण गरेर कालोपत्र गरिएको छ । त्यसअघि जगरबोटदेखि सिद्धपुर–हान्जाबाङ हुँदै माडीको सीमा झिनुवा गाउँसम्मको सडक खण्डमा सडक चौडा बनाउने कार्य भइरहेको छ ।

‘दुई तहको सीमा जोड्ने एउटै सडक भएकाले संयुक्त रुपमा बजेट जुटाउने सहमति अनुसार हरेक तहले वार्षिक रुपमा बजेट विनियोजन गर्दै आएका छौं,’ उनी भन्छन्, ‘सडक चौडा भइसकेपछि कालोपत्र गर्ने काम सुरु हुन्छ । सकभर दुवै तर्फबाट कालोपत्र गर्न थाल्नेछौं ।’

तर उही सडक भएकाले उही शीर्षकमा प्रदेश र संघबाट विनियोजन गर्ने बजेट संयुक्त रुपमा आउने गरेको छ । बजेट एउटै शीर्षकमा दुवै तहले व्यवस्थान गरिरहेका छन् । हरेक आर्थिक वर्षमा दुवै तहले बराबर बजेट विनियोजन गर्ने संयुक्त समहति समेत भएको थियो ।

आफ्नै गाउँमा बैठक बसालेर सडक निर्माण थाल्ने निर्णय गरेपछि झिनुवाबासी निकै खुशी छन् । स्थानीय अगुवा जनक वलीका अनुसार गाउँको विकासमा सडकका साथै टेलिफोन टावर, चोलीफिँजेदेखि तीन चुली हुँदै पातिहाल्नासम्मको साइक्लिङ मार्ग निर्माण गरिदिन पनि दुवै तहका जनप्रतिनिधिसँग माग गरिएको छ ।

‘झिनुवामा आलु उत्पादन निकै हुन्छ । आलु उत्पादन गाउँले चिनिएको हाम्रो झिनुवामा सिंचाई योजना र विद्यालयको भौतिक अवस्थामा सुधार गरिदिन पनि माग गरेका छौं,’ उनले भने ।

सधैं महंगो र राम्रो भवन भित्र बसेर बैठक गर्दै आएकोमा झिनुवा गाउँमा अन्य जनतालाई बोलाएर बैठक बसेकामा नयाँ अनुभव लिइएको र जनताका समस्या आफ्नो आँखैले देख्न मौका मिलेको माडीकी उपाध्यक्ष जयपुरी घर्तीमगरले सुनाइन् ।

उनको अनुभव छ, ‘विकासका मुद्दामा एकापसमा बहस, छलफल र समन्वय गर्न पाउँदा खुशी लाथ्यो । पहिलो युद्धका बेलामा जनतासँग भिजेर काम गरेजसरी पालिकाको बैठक पनि जनताका बीचमा बस्यौं । खुशी लाग्यो ।’

त्रिवेणी र माडी गाउँपालिकाले दुवै तहका विकास योजनाको कार्यान्वयन संयुक्त रुपमा गराउने सहमति तय गर्न दुई वटा गाउँपालिकाको सीमा क्षेत्र झिनुवामा अन्तरपालिका स्तरीय संयुक्त बैठक अघिल्लो वर्षको बैशाखमा भएको थियो । दुई तहका कार्यपालिकाका सबै पदाधिकारीहरुको उपस्थितिमा संयुक्त बैठक बसेको थियो ।

बैठक बसालिएको क्षेत्र झिनुवा माथिको खम्बुखले लेक समुद्र सतहदेखि करिब दुई हजार एक सय मिटर उचाईमा छ ।

रुखमुनि संयुक्त कार्यपालिकाको बैठक बसेर निर्णय गर्नुको कारण खुलाउँदै माडीका अध्यक्ष अमरसिंह घर्तीमगर भन्छन्, ‘बैठकका एजेण्डा दुवै तहको विकासका महत्वपूर्ण योजनाका थिए । हामीले मिलेर विकास योजना सम्पन्न गर्न यो तरिका अपनाएका हौं ।’

यस्तै विकास योजनाबारे त्रिवेणीका अध्यक्ष कर्णबहादुर बाँठामगरले स्मरण गरे, ‘नयाँ एजेण्डा लिएर हामी नयाँ स्थानमा बैठक बस्न पुगेका थियौं । दुवै तहका विकासे मुद्दामा बहस र छलफल गरेर नयाँ निचोडमा पनि पुगेका थियौं । अहिले कार्यान्वयन धमाधम भइरहेको छ । अहिले सडकको विकास गरेर अन्य सामाजिक र सांस्कृतिक गतिविधिमा पनि हामी साथै हुनेछौं ।’

खम्बुखलेमुनि रहेको झिनुवा बजार र आलु गाउँले चिनिने चर्चित झिुनवा गाउँको पूर्वतर्फ तीन चुलीदेखि थुर्पा धुरीसम्म विशाल जंगल र पठार क्षेत्र पर्छ । केही वर्ष अघिसम्म त्यस जंगलको पाटनमा रुकुम र रोल्पाका भेडी गोठालाहरु सयौं भेडा चलाउन आइपुग्थे र महिनौसम्म बस्थे । ओखर, लाली गुराँस, उत्तीस, खर्सु र बाँजलगायतका रुख पाइने ती क्षेत्रमा घोरल, रातेलगायतका वन्यजन्तु पाइन्छ ।

माडी–१ का वडा अध्यक्ष रोहितसिंह घर्तीमगरले विकासले निकै पछि पारिएको झिनुवा र आसपासका गाउँको विकास सडकले प्रभाव पार्ने बताए । सडक निर्माणबाट स्थानीय उत्पादन बाहिर लैजान र विकासका अन्य योजना भित्र्याउन मद्दत पुग्ने उनले बताए । उनको निचोड छ, ‘हामी सबै मिलेर यस क्षेत्रको विकासमा ध्यान दिने पक्का भएको हो । संयुक्त बैठकले आपसी समन्वय र निर्णय लिने क्षमताको विकास भएको हो ।’

माडीको केन्द्र घर्तीगाउँसँग त्रिवेणीको केन्द्र नेर्पा जुगारलाई जोड्ने घर्तीगाउँ–झिनुवा–हाङ्जाबाङ–जगरबोट–नेर्पा सडक एउटै मात्र छोटो र विकल्पहीन मार्ग हो । ‘यो सडक जोडेर कालोपत्र गर्‍यौं भने दुवै गाउँपालिकामा उत्पादित कृषि उपजलाई बजारसम्म लैजान सकिने र आउजाउमा सहजता ल्याउन सकिनेछ ।’

माडीका अध्यक्ष अमरसिंहले भने । निर्माणाधीन दाङ घोराहीदेखि रोल्पाको होलेरी हुँदै रुकुम पुर्‍याइने सहिद मार्गसँग घर्तीगाउँ यसअघि नै जोडिइसकेको छ भने सहिद मार्गकै नुवागाउँ त्रिवेणी खण्डसँग नेर्पा जुगार समेत सडक मार्गले जोडिइसकेको छ ।

नेर्पादेखि जगरबोट हुदै झिनुवा र घर्तीगाउँसम्मको करिब २५ किलोमिटर लामो सडक मध्ये करिब १५ किलोमिटर सडक मात्रै कालोपत्र गर्नुपर्नेछ । दुवै तहको अग्रसरतामा सडक चौडा बनाई कालोपत्र गरिएमा वर्षभरि नै यातायातका साधन नियमित चलाउन मिल्नेछ ।

उक्त सडकका लागि दुवै तहले बजेट विनियोजन गर्दै आएका छन् । उक्त योजना सम्पन्न गर्न दुवै तह मिलेर प्रदेश र संघीय सरकारबाट नियमित अनुदानसहित सशर्त तर्फको बजेट ल्याउन जनप्रतिनिधि थप सक्रिय छन् ।

यस्तै, माडी–२ को ब्याङखोलादेखि थुर्पा लेक हुदै त्रिवेणी–७ को दुम्ला गाउँ जोड्ने नयाँ सडक दुवै गाउँपालिकाको पहलमा निर्माण थालिएको छ । आपसी सम्बन्ध सुधार गर्न र विकास योजनाप्रति ध्यानाकर्षण गराउँदै योजनाको अनुगमन एवं मूल्यांकन गर्न अन्तरपालिका स्तरीय अधिकारप्राप्त समन्वय समिति गठन गरिएको छ ।

बैठक आयोजना गर्ने जिम्मेवारी र व्यवस्थापनमा खटिएका माडीका सूचना अधिकारी पहलमान वलीले नयाँ स्थानमा दुवै तहको संयुक्त बैठकबाट धेरै कुराको सिकाई मिलेको बताए । बैकठले पारित गरेका निर्णय लिपिबद्ध गरिएको छ ।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully