बर्थिङ सेन्टर नहुँदा घरमै सुत्केरी

आश्विन ११, २०८१

डीबी बुढा

I gave birth at home because there was no birthing center

जुम्ला — जुम्लाका अधिकांश दुर्गम क्षेत्रका गर्भवतीहरु नजिकै प्रसूति सेवासहितको स्वास्थ्यसंस्था नहुँदा घरमै सुत्केरी हुने गरेका छन् । उनीहरू महिला स्वास्थ्य स्वयम्‌सेविका र सुँडेनीको भरमा सुत्केरी हुने गरेका छन् । गुठिचौर, पातारासी, तिला, कनकासुन्दरी गाउँपालिकाका लेकाली क्षेत्रका महिलाहरुले सहजै रुपमा प्रसूति सेवा नपाइरहेको दुखेसो गरेका छन् । 

जुम्ला कनकासुन्दरी गाउँपालिका-४ लेकपोर गाउँकी देबु बुढा गत वर्ष घरमै सुत्केरी भइन् । बर्थिङ सेन्टर पुग्न तीन घण्टाको पैदल जानुपर्ने भएकोले उनीसँग घरमै सुत्केरी हुनुको विकल्प थिएन । 

घरमा सुत्केरी हुँदा साल अड्कियो । उनलाई बर्थिङ सेन्टरसम्म बोकेर लिएर साल निकालिएको थियो । गर्भवतीलाई नियमित चेकजाँच गराउने र अनिवार्य सुत्केरी स्वास्थ्यसंस्थामै गराउनुपर्ने सरकारी मान्यता भएपनि दुगर्मका बस्तीहरुमा लागु हुन सकेको छैन । 

सोही गाउँकी पानसा बुढालाई दुई वर्षअघि सुत्केरी व्यथाले च्याप्यो । डोकोमा बोकेर लैजाँदा बाटोमै सुत्केरी हुन सक्ने देखिएपछि परिवारले पनि घरमै सुत्केरी हुन दिए । फलस्वरुप उनको सालनाल निस्केन । उनको गाउँदेखि बर्थिङ सेन्टर पुग्न तीन घण्टा लाग्छ ।

न बर्थिङ सेन्टरसम्मै सडक पुगेको छ, नत नजिकै बर्थिङ सेन्टर छ । स्वास्थ्यसंस्थामा बच्चा जन्माउन रहर मानेका गर्भवतीहरु पनि जान पाइराखेका छैनन् । कतिपय गर्भवतीहरु बाटोमै सुत्केरी भएर फर्काउन बाध्य भएको स्थानीयले दुखेसो पोखेका छन् । 

'दुर्गममा स्वास्थ्यजाँच गराउनेदेखि स्वास्थ्यसंस्थामै सुत्केरी गराउनुपर्ने ज्ञान छ,' पानसाले भनिन्, ‘भौगोलिक विकटता र यातायातको सहज पहुँच नहुँदा घरमै सुत्केरी हुनुपरेको अवस्था छ ।’

कनकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखाका अनुसार लेकपोर गाउँबाट मात्रै बर्सेनि २० देखि २२ जना महिलाहरु सुत्केरी हुने गरेका छन् । तीमध्ये अधिकांश गर्भवतीहरु घरमै सुत्केरी हुने गरेका हुन् । 'पायक पर्ने स्वास्थ्यसंस्थामा प्रसूति सेवा छैन,' पानसाले भनिन्, ‘टाढा स्थापना भएका बर्थिङ सेन्टरहरुको अवस्था समेत बुझ्न पाइरहेका छैनौं । हामी त जोखिम हिसाबले सुत्केरी भइरहेको छौं ।’

दुर्गममा अहिले पनि हरेक चुनावमा सुरक्षित सुत्केरीको एजेण्डा प्राथमिकताका साथ उठ्ने गरेको छ । 'जब उनीहरु जितेर जान्छन्, तब दुर्गमका गर्भवती सुत्केरीहरुको एजेण्डाले मान्यता पाउँदैन । यो बिडम्वना दुर्गमका गर्भवती सुत्केरीहरुले भोगिरहेका छन्,' स्थानीय रमी बुढाले सुनाइन् । 

अहिले घरदैलोको सरकार छ । नीति कार्यक्रम र बजेट उसैले बनाइरहेको हुन्छ । रमीले भनिन्, ‘ग्रामीण क्षेत्रका महिलाका समस्याहरु ज्युँका त्युँ छन् । स्वास्थ्यसंस्थामा जान नसकेर कालसँग पौठेजोरी खेलिरहेको अवस्था छ । ’

उनको गाउँमा सडक नजोडिएकोले एम्बुलेन्स जाने कुरै भएन । तर सुत्केरी, बिरामी बोक्ने राम्रो स्टेचर समेत छैन ।  हिउँदको चिसो समयमा सबै पुरुषहरु व्यापारको शिलशिलामा तराइतिर झर्दा महिलाहरु निकै जोखिमका साथ सुत्केरी भइरहेका हुन्छन् ।

हिउँदमा घरमा सुत्केरी हुन नसक्ने अवस्थामा महिलाहरुले मात्रै बोकेर गर्भवती सुत्केरी गराउन स्वास्थ्यसंस्थामा लैजाने गरेको दुःख उनीहरु सुनाइरहेका छन् । 'भाषणमा सबै सरकारी सेवा गाउँबस्तीसम्मै पुगेको देखिन्छ,' टोल सुधार समितिका सदस्य पार्वती बुढाले भनिन्, ‘व्यवहारमा सेवा नपाएर बिरामी सुत्केरीहरु गाउँमै छटपटाइरहेका छन् ।’

I gave birth at home because there was no birthing center

सरकारले घरमा सुत्केरी हुने दर शुन्यमा झार्ने अभियान चलाएको छ । नियमित ४ पटक गर्भजाँच गर्नुपर्ने र त्यो वापत ७ सय रुपैयाँ समेत दिने व्यवस्था गरेको छ । सुत्केरी स्वास्थ्यसंस्थामा गराएबापत्त तीन हजार रुपैयाँ यातायात खर्च स्वरुप पाउने प्रावधान पनि छ । तर लेकपोर गाउँका गर्भवतीहरु न नियमित गर्भजाँच गर्न पाइरहेका छन् न त स्वास्थ्य संस्थामा सुत्केरी हुन नै पाइरहेका छन् । उसो त सरकारले पाउने सबै सेवाबाट उनीहरु बञ्चित भइरहेका छन् । 

नियमित काममा खटिरहनुपर्ने, अपरिपक्क उमेरमा विवाह गर्ने, सानै उमेरमै बच्चा जन्माउने दुर्गममा भइरहन्छन् । सानै उमेरमा विवाह गर्दा स्वास्थ्य समस्या देखा पर्छ नै । त्यो भन्दा खतरा आमा र बच्चाको अवस्था निकै जोखिममा हुने गरेको छ ।

घर नजिकै बर्थिङ सेन्टर स्थापना गरेर सुरक्षित रुपमा स्वास्थ्य संस्थामा सुत्केरी हुन पाउने अधिकार सुनिश्चित गर्न उनीहरुले माग गरेका छन् । स्वास्थ्य शाखा सहसंयोजक छाया घर्तीले लेकपोर गाउँमा बर्थिङ सेन्टरको आवश्यकता भएको बताइन् ।

उनका अनुसार पालिकाले गर्भवतीहरुका लागि एम्बुलेन्स सेवा दिइरहेको छ । पालिकाभित्र ५ वटा बर्थिङ सेन्टर छन् । तर लेकपोर गाउँका महिलाहरु सबै सेवाबाट बञ्चित नै छन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully