मुगु साक्षर जिल्ला घोषणा

आश्विन ८, २०८१

तृप्ति शाही

Declaration of Mugu Literate District

वीरेन्द्रनगर — हिमाली जिल्ला मुगुलाई ६५ औं जिल्लाका रूपमा सोमबार साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लाको १ नगरपालिका र ३ गाउँपालिका गरी ४ स्थानीय तहलाई यसअघि नै साक्षर घोषणा गरिएको थियो । साविक कर्णालीका ५ जिल्लामध्ये मुगु पहिलो साक्षर जिल्ला घोषणा भएको हो ।

साक्षर हुन तोकिएका सबै सूचकहरु पूरा भएपछि जिल्लालाई साक्षर घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाइ मुगुले जनाएको छ ।

२०७८ को जनगणनाअनुसार मुगुको जनसंख्या ६४ हजार ५ सय ४९ छ । जसमा मुगुमा ९५ प्रतिशत नागरिक साक्षर रहेको जनाइएको छ  । हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ, मोबाइल तथा क्याल्कुलेटर चलाउन सक्ने, आफ्नो भावनाहरु व्यक्त गर्न सक्नेजस्ता १२ सूचकहरु पूरा भएपछि पालिका तथा जिल्लालाई  साक्षर घोषणा गर्ने नीतिअनुरुप जिल्लालाई साक्षर घोषणा गरिएकको शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख खड्कराज भियालले बताए । जिल्लाको साक्षरता सुचक ५० प्रतिशतभन्दा माथि पूरा भएकाले साक्षर जिल्ला घोषणा गर्न सफल भएको उनले बताए । 

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख मन्जनबहादुर कार्की, छायांनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामलगायत पालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसी लगायतले सामूहिक प्रतिबद्धता सहितको हस्ताक्षर ब्यानरमा हस्ताक्षर गर्दै मुगु जिल्लालाई  साक्षर घोषणा गरिएको हो । 

साक्षर जिल्ला घोषणा गर्दै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री धनश्याम भण्डारीले दुर्गम जिल्लाको स्वास्थ्य, शिक्षाका विभिन्न क्षेत्रको गुणात्मक सुधारमा ध्यान दिने प्रतिबद्धता जनाए ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully