नागरिकले दुःख नपाउने गरी सडक यातायातको व्यवस्था मिला‌औं : मुख्यमन्त्री कँडेल

आश्विन ६, २०८१

तृप्ति शाही

Let's arrange road transport so that citizens don't suffer: Chief Minister Kandel

वीरेन्द्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिकले दुःख नपाउने गरी यातायातको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशले आइतबार वीरेन्द्रनगरमा सुरक्षा निकाय, यातायात व्यवसायी तथा यातायात क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुसँग गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले यातायात क्षेत्रलाई जति प्रतिस्पर्धी बनायो त्यत्ति नै नागरिकले सेवा पाउने हुँदा नागरिकलाई सुविधा हुने गरी यातायात क्षेत्रलाई प्रतिस्पर्धी बनाउन व्यवसायीलाई सुझाव दिएका हुन् । 

मुख्यमन्त्री कँडेलले सुरक्षा जाँचलाई थप सहज बनाउन पनि निर्देशन दिए । राजमार्गमा यात्रु जाँचको नाममा ठाउँ-ठाँउमा जाँच हुने यातायात व्यवसायीले गुनासो गरेपछि मुख्यमन्त्री कँडेलले सुरक्षा जाँच गर्ने अधिकार भए पनि आवश्यकताका आधारमा राजमार्गमा जाँचको व्यवस्था गर्नुपर्ने बताए । 

मुख्यमन्त्री कँडेलले जनशक्ति र साधन स्रोतको अभावका कारण पनि ट्राफिक प्रहरीले देखाएको सक्रियताको प्रशंसा गरे ।

कार्यक्रममा वीरेन्द्रननगर नगरपालिकाका मेयर मोहनमाया ढकालले नगर क्षेत्रको पार्किङ व्यवस्थापनलाई नयाँ तरिकाले सम्बोधन गर्न लागिएको बताइन् । बजारको चाप बढेसँगै अहिलेको पार्किङको व्यवस्था साँघुरो हुने हुँदा यसलाई व्यवस्थित गर्ने तयारी भइरहेको उनले बताइन् । 

कर्णाली प्रदेश प्रहरी कार्यालय निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले अरु बेलाभन्दा चाडबाडका बेला दुर्घटनाको जोखिम बढी हुने भएकाले प्रदेश प्रहरी कार्यालयले सडक सुरक्षा बनाएको जानकारी दिए ।

कर्णाली ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अपिलराज बोहराले एक जना प्रहरीले ३८ किलोमिटरसम्म हेर्नु पर्ने भन्दै जनशक्ति र साधन स्रोतको अभावमा पनि ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा उत्कृष्ट काम गरिरहेको बताए ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully