काँक्रेविहारलाई खुला प्राकृतिक चिडियाखानाका रूपमा विकास गर्नुपर्छ : मुख्यमन्त्री कँडेल

श्रावण ५, २०८१

रासस

Kankrevihar should be developed as an open natural zoo: Chief Minister Kandel

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले काँक्रेविहारलाई खुला प्राकृतिक चिडियाखानाका रूपमा विकास गर्नुपर्ने बताएका छन् । उद्योग वाणिज्य सङ्घ सुर्खेतद्वारा शनिवार आयोजित ‘कर्णाली बृहत् वृक्षरोपण उत्सव’ उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेको काँक्रेविहार जङ्गललाई हिंस्रकबाहेक अन्य वन्यजन्तुसँग मित्रवत् सम्बन्ध कायम हुने वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।

'पूर्वाधार विकास निर्माण हुँदैछ, यहाँ ट्री–गार्ड र बाटोसँग जोडिएका रूखमा सोलारको व्यवस्था गर्न सकिएमा यसको सुन्दरता अझ बढ्ने छ । यसतर्फ पनि सोच्नुपर्ने आवश्यकता छ', उनले भने । 

मुख्यमन्त्री कँडेलले वृक्षरोपण गरेर मात्र नपुग्ने भएकाले वृक्षको संरक्षण तथा सदुपयोग गर्नसक्नुपर्नेमा जोड दिए। काँक्रेविहारका साथै बुलबुलेमा गरिँदै आएको वनभोजका गतिविधि आगामी दिनबाट व्यवस्थित गर्नुपर्ने मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव केदार बरालले वनजङ्गल जोगाउनु सबै क्षेत्रको सरोकार भएको धारणा राखे । उनले भने, 'पृथ्वी सबैको साझा घर हो, यसलाई जोगाउनु पनि हाम्रो  साझा दायित्व हो । पृथ्वी जोगाउनमा वनको प्रधान भूमिका हुनाका साथै पर्यावरणीय सुन्दरता कायम राख्नसमेत ठूलो योगदान पुग्ने भएकाले यसलाई जोगाउन लाग्नुपर्छ ।'

रासस

Link copied successfully