म्याद थप नहुँदा जिल्ला अस्पताल भवन अलपत्र 

असार १६, २०८१

विप्लव महर्जन

The district hospital building is stuck due to the extension of the deadline

सल्यान — ५० शय्यामा विस्तार गर्ने उद्देश्यले जिल्ला अस्पताल सल्यानमा निर्माणाधीन दुई भवनको काम तीन महिनादेखि अलपत्र छ । ठेकेदारको बैंक ग्यारेन्टी नभएको भन्दै म्याद थप हुन नसक्दा भवन निर्माण अलपत्र परेको हो । 

जिल्ला अस्पताललाई ५० शय्यामा विस्तार गर्न लागि भवन अपुग भएपछि संघीय सरकारको १८ करोड बजेटमा २०७८ वैशाखमा आरोग्य सुवेदी जेभी कम्पनीसँग ठेक्का सम्झौता भएर निर्माण सुरु गरिएको थियो । विभिन्न कारण जनाउँदै निर्माण कम्पनीले सम्झौता गरेको एक वर्षपछि मात्र निर्माण सुरु गरेको थियो । भवन निर्माण अलपत्र परेपछि निर्माण सामग्री अहिले त्यत्तिकै थन्किएका छन् ।

झन्डै ७५ प्रतिशत काम भएको भवन निर्माणको काम वैशाखदेखि रोकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले बताए । उनका अनुसार दुई निर्माण कम्पनीबाट संयुक्त रुपमा सम्झौता गरेको एक वर्षसम्म काम हुन नसकेपछि आरोग्य निर्माण सेवाले एक्लै सुरु गरेको थियो । पछिल्लो समयमा काम राम्रै भएको थियो । योजना सम्पन्न गर्नुपर्ने अवधि तीन वर्षको भए पनि निर्माण कम्पनीले दुई वर्षमा ७५ प्रतिशत काम सकेको थियो । म्याद थपको लागि बैंक ग्यारेन्टी अनिवार्य रुपमा चाहिने भएकाले ठेकेदारले बैंक ग्यारेन्टीका लागि रकम जम्मा गर्नुपर्ने हो । रकम जम्मा गर्न आनाकानी गर्दा समस्या उत्पन्न भएको छ । 

७५ प्रतिशत काम गरिसकेको निर्माण कम्पनीले अहिलेसम्म झन्डै ११ करोड भुक्तानी लिइसकेको प्रमुख बुढामगरले जानकारी गराए । ‘हामीले ठेकेदारलाई ताकेता गरिरहेका छौं । सम्बन्धित निकायमा प्रस्ताव राखेका छौं तर ठेकेदारले नै ढिला गर्दा प्रक्रिया अगाडि बढ्न सकेको छैन,’ उनले भने । 

जिल्ला अपताल सल्यानका ईन्चार्ज रहेका एमडीजीपी डा. अभिषेक सिंहले १५ शय्याको अस्पतालमा अहिले मुस्किलले ४० बेड राखेर शल्यक्रियालगायतका सेवा विस्तार गरिएको बताए । ठेकेदारलाई ताकेता गर्दै आए पनि विभिन्न बहाना बनाउँदै आएकाले म्याद थपमा कठिनाइ भएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार श्रेष्ठले बताए । स्वर्गीय पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको पालामा २०४४ मा १५ शय्यासहित जिल्ला अस्पताल संचालन गरिएको थियो । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully